फिक्कल । नेपालमै पहिलोपटक इलामको रोङ गाउँपालिकामा भौगोलिक पहिचान, वातावरण र दिगोपन प्रणाली (जिआईइएस) कार्यान्वयनमा ल्याइएको छ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा करिब १८ लाख रुपैयाँ बराबरको अत्याधुनिक मेशिन रोङ–४ भालुझोडाका किसान राजन लिम्बुको अलैंची बगानमा जडान गरिएको हो ।
यस स्टेशनलाई आधिकारिक रूपमा रोङ हिमालयन अलैची जिआईइएस स्टेसन नेपाल नाम दिइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुबासले जानकारी दिए ।
उनका अनुसार एफएओको सहयोगमा नेपालमै पहिलो पटक रोङ गाउँपालिका जडान गरिएको हो । गाउँपालिकाले जनाएको अनुसार अब यहाँ उत्पादन हुने कृषि वस्तुहरूलाई जिआईइएस प्रणाली अन्तर्गत ब्राण्डिङ र बजारीकरण गरिनेछ । सुरुवात अलैंचीबाट हुने र क्रमशः अन्य कृषिजन्य उत्पादनमा पनि विस्तार गरिने योजना छ ।
“अब हाम्रो उत्पादन मात्र उत्पादन हुने होइन, पहिचान र ब्राण्डसहित विश्व बजारसम्म पुग्नेछ। यस प्रणालीले किसानलाई नयाँ अवसर दिनेछ र गाउँपालिकालाई कृषि प्रविधिको नमुना क्षेत्रमा रुपान्तरण गर्नेछ ।” गाउँपालिका अध्यक्ष स्याङबोले भने