इलाम । जिल्ला समन्वय समितिको समीक्षा हलमा आज असल अभ्यास सम्बन्धि अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य गोविन्द गिरी रहेका थिए ।
कार्यक्रममा इलामका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल , प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका सदस्य, पत्रकारहरू साथै सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय तहहरूले आफ्नो क्षेत्रका असल अभ्यासहरू प्रस्तुत गरेका थिए भने विभिन्न पालिकाबीच आपसी अनुभव आदान–प्रदान गरिएको थियो। सहभागीहरूले पारदर्शी प्रशासन, सेवा प्रवाहको सहजता, जनउत्तरदायित्व र विकासका नवीनतम अभ्यासबारे आफ्ना विचार व्यक्त गरेका थिए।
जिल्ला समन्वय समितिले यस किसिमका कार्यक्रमहरूले पालिकाबीच आपसी सहयोग, सहकार्य र समन्वयलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।