इलाम । इलाम नगरपालिकाले हालसम्म सम्पन्न गरेका काम र आगामी योजनाबारे विस्तृत जानकारी दिँदै नगरलाई व्यवस्थित, बालमैत्री र वातावरणमैत्री बनाउन प्रतिबद्ध रहेको जनाएको छ । नगर प्रमुख केदार थापाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता राखिएको बताए । पत्रकार भेटघाट आयोजना गरि नगर प्रमुख थापाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई सन्तुलित रूपमा अघि बढाउने नगरको रणनीति रहेको बताए ।
इलामलाई व्यवस्थित, वातावरणमैत्री र आत्मनिर्भर नगर बनाउन नगरवासीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले ५१ हजार जनसंख्या रहेको नगरलाई खानेपानी आपूर्ति दिगो र सुरक्षित बनाइदै लगेको बताए । थापाले प्राकृतिक श्रोतमार्फत आपूर्ति भइरहेको खानेपानीलाई फिल्टर प्रणालीमार्फत प्रशोधन गर्ने र दैनिक ल्याब परीक्षणको व्यवस्था मिलाइएको जनाए ।
हालसम्म परीक्षणमा आर्सेनिक वा व्याक्टेरिया फेला नपरेको उनले जानकारी दिए । नगर प्रमुख थापाले पूर्वाधार विकासलाई नगरको मेरुदण्ड मानेर अघि बढाइएको जनाए । राजदुवाली खण्डमा बाटो अवरुद्ध हुँदा इलाम मात्र होइन, पाँचथर र ताप्लेजुङसमेत प्रभावित हुने भएकाले वैकल्पिक सडक विस्तारलाई प्राथमिकतामा राखिएको छ । केचना–कञ्चनजंघा रोडसंगै तिल्केनी–माइबेनी हुँदै गोदक जोड्ने सडकको काम अघि बढेको बताए ।
उनले सो सडकको काम ८० प्रतिशत सम्पन्न भइसकेको बताए । यससँगै भारत सरकारको सहयोगमा प्राप्त बेलिब्रिजलाई पुवाखोला र मेची राजमार्गको पुवा खोलाको पुललाई जोगमाईमा जडान गरेर यातायात आवतजावत सहज बनाइएको बताए । यसैगरी, भन्ज्याङ–सोयाक–सिद्धिथुम्का सडकमा पक्की पुल निर्माणको सम्झौता भइसकेको र पुवाखोलामा पनि पक्की पुल बन्ने उनले बताए ।
किरातचोक–रुलुक सडकका लागि १ करोड रुपैयाँ र सुम्बेक–सुलुबुङ–सन्दकपुर सडकलाइै गौरवको योजनाको रुपमा विस्तारका लागि ६० लाख रुपैयाँ विनियोजन भएको थापाले बताए । सडक बोर्डमार्फत समेत थप बजेट व्यवस्थापन गरिएको उनले बताए । स्वास्थ्य क्षेत्रमा नगरपालिकाले स्थापना गरेको सामुदायिक आँखा अस्पताललाई जिल्ला अस्पतालसँग सहकार्यमा सुविधा सम्पन्न बनाइने भएको छ ।
भौगोलिक अपायकका कारण सेवा प्रवाहमा कमी आएको बताउँदै गुनासो सम्बोधन गर्न बीमा प्रणाली सुरु गर्ने तयारी रहेको बताए । इलाम नगरपालिकाले प्राविधि उपलब्ध गराउने र अस्पतालको तर्फबाट एक जना कर्मचारी उपलब्ध गराएर संयुक्त प्रयत्नबाट संचालन गर्ने तयारी रहेको थापाले बताए । इलाम जिल्ला अस्पताललाई केवल ‘रिफर सेन्टर’ बनाइदिने अवस्थालाई अन्त्य गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने तयारी रहेको उनले बताए ।
यसका लागि अर्थोपेडिक, बालरोग र मनोचिकित्सक विशेषज्ञलाई मासिक एक–एक लाख रुपैयाँ अतिरिक्त सुविधा दिन बजेट व्यवस्था गरिएको थापाले बताए । नगरपालिकाले खर्च न्युनिकरणको नीति अवलम्बन गर्दै राजस्व संकलनमा वृद्धि गरेको जनाएको छ । ७ करोडबाट दायरा बृद्धि गरेर साढे १० करोड रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष ११ करोड ६० लाखभन्दा बढी राजस्व उठेको उनले बताए । । यसबाट प्राप्त स्रोतलाई पूर्वाधार, स्वास्थ्य र कृषि क्षेत्रमा लगानी गर्ने योजना नगरपालिकाले बनाएको छ ।
२०६५/६६ सालतिर भारतीय सरकारको सहयोगमा बनेको तर अझै सञ्चालनमा नआएको कोल्डस्टोरलाई सञ्चालनमा ल्याउन पहल भइरहेको उनले बताए । कृषि र पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण भएको यो संरचना निजी वा सहकारी संस्थालाई लिजमा दिन पटक पटक सुचना जारी गरेपनि अहिलेसम्म कसैले पनि चासो नदेखाएको उनले गुनासो गरे ।
पत्रकार भेटघाटमा नगर प्रमुखले सिटी मार्टमा रहेको लिफ्ट आवश्यकताअनुसार मात्र सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए । उनले लिफ्ट आवश्यक काम भन्दा पनि मनोरञ्जनका लागि मात्र प्रयोग गरिदिनाले पटक पटक समस्या आएको बताए । इलाम नगरपालिकाले मेडिकल कलेज स्थापनाको सम्भावनाबारे पटक पटक सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।
इलाम, पाँचथर, ताप्लेजुङ, झापा र भारतीय सीमावर्ती क्षेत्रका करिब १० लाख जनसंख्या लाभान्वित हुने भएकाले इलाममा मेडिकल कलेज स्थापनाको आवश्यकता देखिएपछि पहल अघि बढाइएको उनले बताए । थापाले मेडिकल कलेजको डकुमेन्ट शिक्षा मन्त्रालयमा पेश गरिए पनि प्रक्रिया अघि बढ्न नसकेको भन्दै यस विषयमा इलामबाट निर्वाचित सांसदयद्धय र राजनीतिक दलका प्रतिनिधि सहित प्रधानमन्त्रीलाई समेत जानकारी गराइएको बताए ।