Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एमाले पार्टी कार्यालय पुगिन् पूर्वराष्ट्रपति भण्डारी

एमाले पार्टी कार्यालय पुगिन् पूर्वराष्ट्रपति भण्डारी

  • अभयकुमार राई
  • मंगलबार, भाद्र ३ २०८२


एमाले पार्टी कार्यालय पुगिन् पूर्वराष्ट्रपति भण्डारी

 

मोरङ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालय पुगेकी छन्। मंगलबार दिउँसो करिब १ बजे पार्टी कार्यालय पुगेकी भण्डारीले आफू राष्ट्रपतिको हुनुअघि भवनमा पुगेको स्मरण गरिन्। उनलाई स्वागत गर्नका लागि राष्ट्रिय सभा सदस्य खेम नेपाली, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव उषा झा, पूर्वसांसद यशोदा तिम्सिना पुगेका थिए ।

पार्टी कार्यालयमा भण्डारीले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको शालिकमा माल्यापर्ण गरेकी थिइन्। त्यसपछि भवनको सबै कोठाको उनले निरीक्षण गरेकी थिइन्। उनले भनिन्, ‘भवनमा नआएको धेरै लामो समय भएको थियो। मैले जिल्लाका नेताहरुलाई आग्रह गरे। १०र१० वर्षयता के कति परिवर्तन भयो, हेर्न पाएँ। यसक्रममा धेरै साथीहरुसँग भेट भयो। खुशी लागेको छ।’

उनले थपिन्, ‘यो भवन निकै पुरानो हो। यहाँ हामीहरु रातभरि बसेका पनि छौँ। त्यत्तिकै भुइँमा सुतेका पनि छौँ। त्यस्तो अवस्थाबाट गुज्रेका थियौँ। त्यसले पनि मलाई यहाँ आउन चाहेको हो।’ उनले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेको बताइन्। उनले भनिन्, ‘अहिले पार्टीको विशेष जिम्मेवारीमा त म छैन। म राष्ट्रपतिबाट निवर्तमान भइसकेपछि मैले पार्टीको मेरो सदस्यता नवीकरण गरेकी छु। ४५ वर्ष भएछ, म पार्टी सदस्य भएको र सुखद संयोग के छ भने पार्टी सदस्य पनि विराटनगरबाटै भएको हुँ।’ पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै उनले भनिन्, ‘०४६ सालको जनआन्दोलनमा समेत मैले विराटनगरबाट सहभागिता जनाएको हुँ। र अहिले म नेकपा एमाले हुँ र नेकपा एमालेको संगठित सदस्य हुँ।’ उनले आफू पार्टीकै कार्यकर्ता भएको र पार्टीकै बलमा राष्ट्रपति भएको बताइन्। उनले भनिन्, ‘अब फेरि राष्ट्रिय एजेण्डमा लाग्नका लागि एमाले नै उपयुक्त पार्टी भएको निष्कर्षमा छु। र अब फेरि फर्केर म तपाईंहरुको पार्टीमा आवद्ध भएकी छु।’

प्रतिक्रिया
सम्बन्धित समाचार