Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जितको दबाबमा नेपाल

जितको दबाबमा नेपाल

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २ २०८२


जितको दबाबमा नेपाल

काठमाडौं। अस्ट्रेलिया पुगेको नेपाली क्रिकेट टोलीमाथि अहिले दबाब हावी छ। उपाधि उचाल्ने लक्ष्यसहित सुरु भएको टप इन्ड टी–२० सिरिज नेपालका लागि उल्टै आत्मविश्वास हल्लाउने परीक्षा बनेको छ। लगातार दुई खेलमा पराजय भोगिसकेपछि अब सोमबार मेलबर्न स्टार्स एकेडेमीसँगको तेस्रो खेल नेपाली टोलीका लागि अर्को प्रतिस्पर्धा मात्रै होइन, हारको छायामाथि जितको घाम खोज्ने मौका पनि बन्नेछ।

नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ रनले हारेको नेपाल २० ओभर खेले पनि १३५ रनमा सीमित रह्यो। दोस्रो खेलमा बंगलादेश ‘ए’ ले दिएको १८७ रनको लक्ष्य पछ्याउँदा केही सुधार देखिएको थियो। तर, १५४ रनमै समेटिँदा ३२ रनले पराजय भोग्नुपर्‍यो। लगातार दुई खेलमा १५५ रन नपार्न सकेको तथ्यले नेपालको ब्याटिङमा कति ठूलो समस्या छ भन्ने प्रष्ट देखाएको छ।

सबैभन्दा चिन्ताजनक कुरा भने कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीजस्ता भरोसायुक्त ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। ओपनिङ जोडीले पनि स्थिर सुरुआत दिन नसक्दा टिमको मध्यक्रम दबाबमा परेको छ। तर, हारसँगै आएको अनुभूति र दोस्रो खेलमा देखिएको केही सकारात्मक पक्षले भने सोमबारको खेललाई अझै आशावादी बनाएको छ।

मेलबर्नमा हुने खेल नेपालका लागि अंक जोड्ने अवसर मात्र होइन, आत्मबल फर्काउने मौका पनि हो। जितनजिक रहेर पनि गुमाएका क्षणलाई फेरि दोहोर्याउन नदिने हो भने यसपल्टको खेल नेपाली टोलीका लागि नयाँ सुरुवात बन्न सक्छ। हारका कारण दबाबले थिचिएको नेपाल फेरि उभिन सक्छ कि सक्दैन त्यो भने सोमबारको नतिजाले मात्र बताउनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार