Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलाममा मनाईयो रोपाइँ जात्रा

इलाममा मनाईयो रोपाइँ जात्रा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ३० २०८२


इलाममा मनाईयो रोपाइँ जात्रा

इलाम : इलामको मौलिक पर्वका रूपमा स्थापित रोपाइँ जात्रा बिहीबार इलाम सदरमुकाम इलाम बजारमा भव्यताका साथ मनाईएको छ । इलाम बजार मात्र नभई आसपासका गाउँ-गाउँबाट आएका मानिसहरूको बाक्लो उपस्थितिले सदरमुकामको वातावरण उल्लासपूर्ण बनेको थियो। जात्रामा लोकधुनको तालमा सार मिलाउँदै सहभागीहरूले धान रोप्ने, हल जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका गतिविधिहरूको अभिनय प्रस्तुत गरे ।

हली, बाउसे, रोपहारलगायतका पात्रहरू जातीय भेषभूषामा सजिएर बजार परिक्रमा गर्दा दर्शकहरूको भीडले ताली र जयकाराले स्वागत गरिरहेका थिए । त्यसैगरी लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेनलगायतका आकर्षक पात्रहरूको रोचक अभिनयले जात्रालाई थप मनोरञ्जनमय बनाएको थियो । स्थानीय इस्वर चिपालुले रोपाइँ जात्रालाई इलामको सांस्कृतिक पहिचानका रूपमा जोगाउँदै पर्यटक आकर्षणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

इतिहास अनुसार सुगौली सन्धीपछिको समयदेखि नेवार समुदायको बसोबास इलाममा सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको मानिन्छ । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको यस वर्षको जात्रामा सबै जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेटिएका थिए । जात्रा अघिका दिनहरूमा नाग पञ्चमीदेखि लाखे नाचको आयोजना गरिन्छ भने लिम्बु समुदायले धान नाच प्रस्तुत गर्ने परम्परा पनि कायम छ ।

असार-साउन महिनामा धान रोपाइँ सकेपछि मैजारोको रूपमा रोपाइँ जात्रा मनाउने प्रचलन पुरानो हो । नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रबिण श्रेष्ठका अनुसार यस जात्रामा सहभागी युवा(युवतीले आफ्ना जातीय पोशाकमा सुसज्जित भएर धान रोप्ने अभिनय गर्दै बजार परिक्रमा गरिएको साथै हलगोरु जोत्नेदेखि मुङग्रेको नाचसम्मका विविध प्रस्तुति जात्रामा देखाईएको बताए ।

स्थानीय बासिन्दादेखि बाहिरबाट आएका दर्शकसमेतले रोपाइँ जात्राबाट इलामको मौलिक संस्कृति र पहिचानको अनुभव लिन पाएको बताएका छन् । यसरी हरेक वर्षको भाँति यस वर्ष पनि रोपाइँ जात्राले इलामको सांस्कृतिक सम्पदा संरक्षण र समुदायबीचको एकता मजबुत बनाउन सहयोग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार