इलाम । तेश्रो ताप्लेजुङ गोल्डकपको उपाधिको लागि गत बर्षको उपविजेता सलेहस युवा क्लब सिराहा र चर्च ब्वाइज युनाइटेड ललितपुर भिड्ने भएका छन् । दोश्रो सेमिफाइनल खेलमा रेडस्टार एफसी झापालाई २–० गोल अन्तरले हराउँदै सलेहसले चर्च ब्वाइजलाई प्रतिद्धन्द्धीको रुपमा पाएको हो । सलहेस र चर्चब्वाइजबीचको फाइनल खेल साउन ३१ गते शनिबार हुनेछ ।
सलहेसका युसुफ मल्लिकले दुवै गोल गरे । उनले खेलको १३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । युसुफले काउन्टर मुभमा गोलको खाता खोले । आफ्नै साथीले दिएको ब्याक पास रेडस्टारका गोल किपर दिप कार्कीसँग ठोकिएर फर्कने क्रमलाई उपयोग गर्दै युसुफले दोस्रो गोल गरे । सलेहसले क्वाटरफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० र सेमिफाइनलमा रेडस्टारलाई पराजित गरेको हो ।
बुधबारको खेलबाट फाइनलमा स्थान सुरक्षित गरेको चर्चब्वाइजले भने क्वाटरफाइनलमा लिजेन्ड फुटबल एकेडेमी सिलिगुढी भारतलाई १–० र द योङ ब्रदर्स क्लब इटहरी सुनसरीलाई ट्राइब्रेकरमा ३–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । बिहीबारको म्यान अफ दी म्याच युसुफ भए । उनले सात हजार रुपैयाँ प्राप्त गरे । उनी आफ्नो टिमको दुवै खेलका म्यान अफ दी म्याच बन्न सफल भएका छन् ।