Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इन्जरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो

इन्जरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २९ २०८२


इन्जरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो

इलाम । इन्जुरी समयको अन्तिम मिनेट गोल व्यहोर्न पुग्दा द योङ ब्रदर्स इटहरी तेश्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ । इटहरीलाई ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडले पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए ।

खेलको ७७औँ मिनेटमा योङ ब्रदर्सले पाएको फ्रिकिकमा प्रवेश बस्नेतको प्रहार चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरीले नियन्त्रण गुमाएका थिए । भारी वर्षाका कारण हिलाम्मे खेलमैदानमा चौधरीको हातबाट फुत्किएको बलले गोल लाइन क्रस गरेको थियो । यस्तै, खेल सकिन १ मिनेट बाँकी रहँदा डिबक्स बाहिर पाएको फ्रिकिकलाई सुमन श्रेष्ठले जाली चुमाएका थिए ।

टाइब्रेकरमा चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी नायक सावित भए । उनले इटहरीको २ वटा प्रहारलाई बचाएका थिए । चर्च ब्वाइजका लागि सुमन श्रेष्ठ, रोशन पहाडी र युवराज ढकालले गोल गरे । नवयुग श्रेष्ठको प्रहार फ्रेममा लागेर बाहिरिएको थियो । इटहरीका निरज खड्काको प्रहार मात्र गोलमा परिणत भएको थियो । गोलरक्षक चौधरीले इटहरीका विशाल तामाङ र निवास फुयाँलको प्रहार रोकेका थिए ।

युगन राईको प्रहार पोस्टमा लागेर फर्किएको थियो । खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद ७ हजार पाए । यसैबीच, आजको खेलमा महिला अतिथि राखिएको थियो । उनीहरुबाट संकलित १३ हजार रकम टिम इटहरीलाई प्रोत्साहनस्वरुप हस्तान्तरण गरिएको छ ।

अन्तिम सेमिफाइनल खेलमा झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबले सिराहाको सलहेश युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लाखे जात्रा सन्चालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोकृष्ट बन्ने खेलाडीले मोटरसाईकल पाउँदा अन्य विधागत पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार