इलाम । लगातार वर्षाका कारण इलामका विभिन्न स्थानमा पहिरो तथा घरमा क्षति पुगेको छ । आज बिहान साढे ७ बजेको समयमा फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचौकदेखि घुर्विसे–पञ्चमी हुँदै राँके–इलाम आउने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी चौकी आमाचोकबाट प्रहरी टोली खटाई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि, साउन २७ गते राति माई नगरपालिका–९ सोक्तिम स्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहित पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । त्यस्तै, इलाम नगरपालिका–११ सोयाकस्थित केचना–कंचनजङ्गा फास्ट ट्रयाक सडकमा पनि पहिरो खसेर यातायात अवरुद्ध भएको छ । दुवै स्थानमा प्रहरी चौकी चिसापानी र गोलाखर्कबाट टोली खटाएर सडक खुलाउने कार्य भइरहेको छ ।
साउन २८ बिहान ११ बजे सुर्योदय नगरपालिका–६ हर्कटेमा केशर कटुवालको घर माथिबाट पहिरो खस्दा घर जोखिममा परेको छ । मानवीय तथा पशु क्षति नभएको प्रहरीले जनाएको छ । आज बिहान ४ बजे इलाम नगरपालिका–९ गोलबस्तीमा वर्षाको कारण राकेश थापा मगरको जिर्ण टिन छानो तथा इटा–माटोले बनेको दुईतले घरको दक्षिण भाग भत्किएको छ ।
घरमा डेरा गरी बस्ने सुर्योदय नगरपालिका–५ समालबुङका सुकबिर लिम्बूकी ३५ बर्षिया श्रीमती भावना सुब्बा र उनकी छोरी १४ बर्षिया अनुस्का सुब्बा (१४) सामान्य घाइते भएका छन् । दुवैको जिल्ला अस्पताल इलाममा उपचारपछि बिहान ७ बजे डिस्चार्ज गरिएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मान बहादुर राईका अनुसार सबै घटनास्थलमा प्रहरी परिचालन गरी राहत र अवरोध हटाउने कार्य भइरहेको छ ।
गएराति इलामका केही भूभागमा सबैभन्दा धेरै १२६.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापामा १२० मिलिमिटर वर्षा मापन भएको थियो । पानीको सतह बढ्दै जाँदा इलामको माई खोलाले सतर्कता तह पार गरिसकेको छ ।