इलाम । सन्दकपुर गाउँपालिकामा अवस्थित विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी क्षेत्रमा आज सरसफाइ अभियान सम्पन्न भएको छ। “हाम्रो देश नेपाल सरसफाइ अभियान” अन्तर्गत आयोजित यो कार्यक्रम आज आफ्नो १३औं हप्तामा प्रवेश गरेको हो। यस सरसफाइ अभियानमा सन्दकपुर पर्यटन संस्था, सूर्यदय नगरपालिका–१ मा बसोबास गर्ने मसला चिया दोलखाली ब्वाइज, जिएस इन्टरटेन्मेन्ट लगायतका संस्थागत तथा व्यक्तिगत सहयोगीहरूको सक्रिय सहभागिता रहको थियो ।

अभियानका लागि आर्थिक सहयोग र जनश्रम दुवै माध्यमबाट साथ दिने सबैलाई आयोजक टोलीले विशेष धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रमका क्रममा माईपोखरी क्षेत्रमा फोहर संकलन, व्यवस्थापन तथा सरसफाइ कार्य गरिएको थियो। यस अभियानले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै स्थानीय तथा आगन्तुकहरूलाई स्वच्छ र आकर्षक वातावरणमा घुमफिर गर्ने अवसर पनि प्रदान गरेको छ।
“राष्ट्रको लागि सरसफाइ अभियानमा हामी सबै जुटौं” भन्ने मूल मन्त्रका साथ अभियानलाई निरन्तरता दिइँदै आएको छ र आगामी दिनमा अझ व्यापक रुपमै अघि बढाउने योजनासमेत सार्वजनिक गरिएको सरसफाई अभियानका नेतृत्व गर्दै आएका रुपन चाम्लिङ राईले बताएका छन्
