काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच सार्वजनिक रूपमै व्यक्तिगतरुपमा आरोपप्रत्यारोप चलिरहेको छ। शुक्रवार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई ‘एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ’ भन्ने टिप्पणी गरेपछि खनालले साँझ नेपाललाई ‘पहिले आफ्नो अनुहार ऐनामा हेर्नू र आफैँ एमाले फर्किने बारे सोच्नू’ भनेर जवाफ फर्काएका छन्।
न्युज एजेन्सी नेपालमार्फत प्रतिक्रिया दिँदै सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैँले जनताको बहुदलीय जनवाद (जबज) लाई त्याग्न नसकेको आरोप लगाए। केही समय अघि अध्यक्ष नेपालले पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाएको भन्दै खनालप्रति कडा टिप्पणी गरेका हुन्। त्यसपछि वाकयुद्ध नै चलिरहेको छ।