Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

वन्यजन्तुको जैविक मार्ग बनाउन वृक्षारोपण, जौबारीमा डेढ लाख बढी बिरुवा रोपिए  (तस्बिरहरु) 

वन्यजन्तुको जैविक मार्ग बनाउन वृक्षारोपण, जौबारीमा डेढ लाख बढी बिरुवा रोपिए  (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • मंगलबार, साउन २१ २०८२


वन्यजन्तुको जैविक मार्ग बनाउन वृक्षारोपण, जौबारीमा डेढ लाख बढी बिरुवा रोपिए  (तस्बिरहरु) 
सन्दकपुर (जौबारी) । कुहिरोले ढाकेको जौबारी बजारको पछाडिपट्टिको खुल्ला जग्गामा स्थानीयबासी रुखको नर्सरीमा दैनिक काम गर्छन् । कसैले वृक्षारोपणका लागि खाल्डो खनिरहेकी हुन्छन् त कोहि नर्सरीमा बिरुवा हुर्काउन पोलिब्यागमा बिरुवाहरु राख्न व्यस्त हुन्छन् । सन्दकपुर गाउँपालीका ५ को जौवारी बजार नजिकै रहेको ७ रोपनी बढी जग्गामा कोही  बिरुवा हुर्काउन र सुरक्षा गर्न स्थानीयबासीहरु आफै     खटिन्छन् । बिरुवाको वृक्षारोपणका रेडपाण्डा नेटवर्कले स्थानीय गैरसरकारी संस्थाको समन्वयमा निरन्तर वृक्षरोपणको काम गर्दै आएको छ ।
स्थानीयबासीले विरुवा रोपेवापत दैनिक ७ सय ८० रुपैयाँ पाउँछन् ।  वृक्षारोपणसँगै बिरुवाको सुरक्षाका लागि स्थानीय १५ जना बढीको सहभागिता हुने गरको छ । नजिकै भारतमा पर्ने सिंहलिला नेशनल पार्कसँग नेपालको जमुना, टोड्के, दोबाटे लगायतका क्षेत्रलाई जैविक मार्गको रुपमा जोड्नका लागि यहाँ केही वर्ष यतादेखि वृक्षारोपणको काम गरिदै छ । यो जैविकमार्ग रेडपाण्डा सहितका वन्यजन्तूका लागि महत्पूर्ण रहेको संरक्षणकर्मी सोमान टासी लामाले बताए ।
चरिचरन हुने यहाँका उजाड डाँडालाई रेडपाण्डा नेटवर्कले खरिद गरि डिभिजन वन कार्यालयमा हस्तान्तरण गरेपछि वृक्षारोपण गरेको हो । समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम अन्तरगत यहाँको ७ सय ७५ रोपनी नीजि जग्गा किनेर जिल्ला वन कार्यालय इलामको नाममा पास गरेर वृक्षा रोपण तथा संरक्षणको काम अघि बढाइएको हो । विभिन्न चरणमा गरी जग्गा खरिद गर्दा दुई करोड बढी  लगानी भइसकेको छ । बिरुवामा रोपणमा पनि लगानी बढ्दै गएको छ ।  विरुवा रोप्न स्थानीयले रोजगारी पाएका छन् भने उनीहरु नियमित रुपमा बिरुवाको रेखदेखमा खटिने गरेका छन् । छिमेकी देश भारतमा रहेको सिंहलिला नेशनल पार्कका कारण घना जंगल छ । तर नेपालतर्फ वन फडानी र चरीचरनका कारण उजाड देखिन्छ ।
चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा २०७६  सालबाट जग्गा खरिद गरि बिरुवा रोपण शुरु भएको थियो । २०७९ सालमा सालमा ५५ हजार ९ सय विरुवा रापिएको थियो । २०७९ साल अघिका वर्षहरुमा २३ हजार विरुवा रोपिएको थियो । अहिलेपनि जौबारी र टङ्लु क्षेत्रमा बिरुवा रोप्ने क्रम भइरहेको     छ । वन्यजन्तु दुई देश आवतजावत गर्न सक्ने भएपनि बिचमा वन क्षेत्र थिएन । यसलाई ‘अन्तराष्ट्रिय स्तरको जैविक मार्ग’ रुपमा विकास गर्न खोजीएको दिपज्योती क्लब पाँचथरका अध्यक्ष सुनिल बान्तवाले बताए ।
दुई सय वर्ष अगाडिदेखिनै यो क्षेत्र उजाड भएको पाइन्छ । स्थानीय थुक्तेन लामाका अनुसार जाबौरी क्षेत्रमा अहिले संरक्षणका कार्यक्रमले वन क्षेत्र बढ्दै गएको छ ।  करिब दुई सय वर्ष अगाडी यो क्षेत्र पुगेका जोसेफ डाल्टन हुकरले यो क्षेत्रमा खर्क रहेको र जमिन उजाड भएको भनेर लेखेको पाइन्छ । डाँडालाई जंगलमा फर्काउनका लागि प्रयास भइरहेको छ । यहाँ भालुचिण्डे, टेगा, मालिङ्गो, गुराँस, चिमाल लगायतका विरुवा रोप्ने काम भइरहेको रेडपाण्डा संरक्षण कार्यक्रम संचालन गर्दै आएको दिपज्योती क्लबका राम रिमालले बताए । खुल्ला क्षेत्रमा भएको वृक्षारोपण  र बिरुवाको हुर्काउने काम राम्रो रहेको डिभिजन वन कार्यालय इलामका प्रमुख बिरेन्द्र साहले बताए ।
लेकाली क्षेत्रमा मौसमको भर हुँदैन । कहिले कुहिरोमा त कहिले छ्याङ्ग उग्रिएको समयमा डाँडालाई हरियाली बनाउन ठूलो जनशक्ति खटिएर वन संरक्षणको काम राम्रो भएको साहाले बताए । वृक्षारोपण, प्लाष्टिक पोखरी र जग्गालाई धेराबारा लगाउने काम भइरहेको छ । नजिकै टोड्के, जमुना, डोबाटे क्षेत्रमा रहेका जंगलहरु रेडपाण्डाका लागि महत्वपूर्ण छ। रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको नेपाल र भारतका क्षेत्रलाई जैविक मार्गले जोड्ने बताइएका छन् ।  यो क्षेत्रमा २०७२ सालदेखि विरुवा रोप्नेकाम सुरु गरीएको थियो ।
उनका अनुसार जग्गा किन्नेकाम भने २०७६ सालदेखि सुरु भएको हो ।  यसअघि हिले सामुदायिक वनमा रोपिएको विरुवा सप्रिएर आएको देखिन्छ ।  किनिएको जग्गापनि सोही सामुदायिक वनमा मिसाउने तयारी भएको छ ।  यहाँ १० वटा प्लाष्टिक पोखरी पनि बनाइएको छ । २० हजार लिटरको प्लाष्टिक पोखरीमा पानी जम्मा गरेर विरुवालाई सिंचाइ गर्ने तयारी गरिएको हो ।  ‘विगतमा रोपिएको विरुवाले सामुदायिक वन क्षेत्रमा निक्कै राम्रो भएको छ । रेडपाण्डा लगायतका वन्यजन्तु संरक्षणमा टेवा पुग्ने आश छ’ सन्दकपुर ५ का वडाअध्यक्ष यज्ञ गुरुङ्ग भन्छन् ‘ पछिल्लो दश वर्षमा जंगल बढ्ने क्रम बढेको छ । यो क्षेत्र पर्यटकीय क्षेत्र भएकाले रेडपाण्डा अवलोकन गर्न आउने पर्यटकहरुका लागि पनि आकर्षक छ ।  सन्दकपुर, तुम्लीङ, आहाल, डाबाटे जस्ता पर्यटकीय क्षेत्र छन् ।  जौबारीमा वर्षेनी विदेशी पर्यटक आउँछन् । पछिल्ला दिनमा अहिले रेडपाण्डा अध्ययनका लागि पर्यटक आउने क्रम बढेको छ ।  उनीहरुलाई चोयाटार सामुदायीक वन लगायतका जगंलमा रेडपाण्डा देखाउने गरिन्छ  ।
रेडपाण्डा नेटवर्कले जौबारीमा रहेको आलु विकास केन्द्रको ८ हजार ४ सय २५ रोपनी जग्गामा पनि वृक्षारोपण गर्ने योजना बनाएको छ । त्यसका लागि वन तथा भु–संरक्षण मन्त्रालयको टोलीले अध्ययनको काम सकेर प्रतिवेदन बुझाएको थियो । कृषि मन्त्रालय अन्तरगत रहेको उक्त जग्गाको केही सय रोपनीमा मात्र आलु रोप्ने काम हुँदै आएको छ । खाली रहेको त्यो जग्गामा वृक्षारोपण गर्दा रेडपाण्डाको बासस्थान संरक्षणमा सहयोग पुग्ने संरक्षणकर्मीको भनाइ छ ।
रेडपाण्डा नेटवर्कले जौवारी, तुम्लिङ, थुम्के, छिपछिपे सामुदायिक वन, चित्रे हिले सामुदायिक वन, सिंहदेवी सामुदायिक वन क्षेत्रको १ हजार रोपनीमा १ लाख बढी बिरुवा रोपिएको छ । रेडपाण्डाको आहारा र अन्य प्रजातिको विरुवा वृक्षारोपण यहाँ भएको हो । जस मध्ये करिव ७ सस ७५ रोपनी रोपनी जग्गा खरिद गरि डिभिजन वन कार्यालय ईलामलाई हस्तान्तरण गरिएको हो । सो क्षेत्रमा पछिल्ला दुई वर्षमा ८० हजार बढी बिरुवा रोप्ने योजना रहेको दिपज्योती युवा क्लबका राम रिमालले बताए ।
  पिटिआई कोरिडोर निर्माण
पाँचथर, इलाम र ताप्लेजुङमा केही वर्ष यता समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालित रहेको छ । पिआइटि (पाँचथर–इलाम–ताप्लेजुङ) कोरिडर बनाएर समुदायमा सचेतना जगाउने, आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, अनुसन्धान गर्ने कामहरु भइरहेको छ। यही अन्तर्गत रहेर जग्गा किनेर वृक्षा रोपणको काम भइरहेको रेडपाण्डा नेटवर्कका आङ्फुरी शेर्पाले बताए ।  इलामका चार, पाँचथरका तीन र ताप्लेजुङका सात स्थानीय तहमा रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको पिआइटी कोरिडरका कार्यक्रम संचालन हुँदै आएको हो ।
थप तस्बिरहरु  

प्रतिक्रिया
सम्बन्धित समाचार