इलाम । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक बर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रशासनले पत्रकार भेटघाटको आयोजना गरि गत आर्थिक बर्षमा कार्यालय र मातहतका कार्यालयहरुबाट भएका कार्य सम्पादनको विवरण सार्वजनिक गरेको हो ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका हुन् । तथ्यांक अनुसार इलाममा आर्थिक वर्ष २०८१/८२ मा इलाम जिल्लामा २७ हजार ४३ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विभिन्न स्थानीय तहमार्फत सेवा प्रदान गरिएको तथ्याङ्क सार्वजनिक गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलाममार्फत मात्र १५ हजार २९९ जनाले विवरण सङ्कलन गरेका छन् । कार्यालयबाट ७ हजार २ सय ३९ जनाले तयार भएको परिचयपत्र प्राप्त गरेका छन्।
त्यस्तै, इलाका प्रशासन कार्यालय मंगलबारेमा १ हजार ४ सय १४, सूर्योदय नगरपालिकामा साउन १३ गतेसम्मको विवरण अनुसार २ हजार ३ सय ११ को विवरण संकलन भएको छ । २०८२ बैशाख २९ गतेबाट असार २५ गतेसम्म अभियान मार्फत फाकफोकथुम गाउँपालिकामा ६ सय ३७ जनाको विवरण संकलन भएको छ । माई नगरपालिकामा साउन ११ गतेबाट सुरु भएको अभियानमा १४३ जनाको विवरण सङ्कलन भएको छ । कार्यालयमा गत आर्थिक बर्ष र त्यसअघिका गरि करिब २४ हजारको हाराहारीमा राष्ट्रिय परिचयपत्र रहेको छ ।
जिल्ला प्रशासन कार्यालय इलाममार्फत ८ हजार २५ जनाले विद्युतीय राहदानीको इन्सरोलमेन्ट गरेका छन् । तीमध्ये ७ हजार २ सय ३९ जनाले राहदानी प्राप्त गरिसकेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा इलाम जिल्लामा विभिन्न किसिमका १ सय १९ मुद्दा तथा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीमध्ये अधिकांश मुद्दा फछ्यौट भइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार मुलुकी अपराध संहिता अन्तर्गतका ४५ वटा मुद्धा दर्ता भएका थिए, जसमा ४२ फछ्यौट भई ३ मुद्दा बाँकी छन् । सवारी क्षतिपूर्तिमा २ वटा मुद्धा दर्ता भएकामा एउटा फछ्यौट भएको छ । यसैगरी, सिधै वा नियामक निकायबाट प्राप्त ३२ वटा उजुरी मध्ये ३० वटा फछ्यौट भएका छन् । ठाडो उजुरी १६ मध्ये १२ फछ्यौट भएका छन् भने ४ अझै बाँकी छन् ।
मिटर ब्याज अनुचित लेनदेन सम्बन्धी उजुरी ५ वटा दर्ता भएका सबै फछ्यौट भएका छन् । वैदेशिक रोजगार सम्बन्धी उजुरी १९ वटा दर्ता भएकोमा १७ वटा फछ्यौट भएका छन् । आप्रवासी स्रोत सूचना केन्द्र इलाम अन्तर्गत ७ हजार २५ जनाले बैदेशिक रोजगारीमा जानु पूर्व परार्मश लिएका छन् ।
जसमा जिल्ला प्रशासन कार्यालयमा रहेको सुचना केन्द्रबाट ६ हजार ८ सय ३१ जनाले वैदेशिक रोजगारीसम्बन्धी परामर्श पाएका छन् । आप्रवासी स्रोत उपकेन्द्र फिक्कलबाट १ सय ९४ जनाले परामर्श लिएका छन् । इलाममा १ सय २२ र फिक्कलमा २८ जनाले वैदेशिक रोजगारीका सम्बन्धी उजुरी दिएका छन् । इलामबाट ४६ वटा फछयौट भएको छ भने ८ जनाको विभागमा पठाइएको छ । फिक्कलमा २० वटा फछयौट भएको छ ।
इलाममा ६ हजार ६ सय ७ जनाले नयाँ नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मंगलबारे र अध्ययनमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरमार्फत सेवा प्रदान गरिएको छ । जसमध्ये ६ हजार ४ सय ६१ जनाले वंशजको आधारमा, १ सय २ जना आमाको नामबाट, ४० जनाले बैबाहिक अंगिकृत र ४ जनाले गैर आवासिय नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलाममार्फत मात्र ३ हजार ८ सय ३४ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् । यस्तै, ३ जनाले आमाको नामबाट, १८ जनाले वैवाहिक अंगीकृतमार्फत र ४ जनाले गैरआवासीय रुपमा नागरिकता पाएका छन् । इलाका प्रशासन कार्यालय मंगलबारेबाट १ हजार ६ सय ९४ जनाले वंशजको आधारमा, २ जनाले आमाको नामबाट, ५ जना वैवाहिक अंगिकृत नागरिकता पाएका छन् । पशुपतिनगरबाट ९ सय ३३ जनाले वंशजको आधारमा, ९७ जनाले आमाको नामबाट र १७ जनाले वैवाहिक अंगिकृत नागरिकता पाएका छन् ।
इलाममा १० हजार ४ सय ६८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । जसमध्ये संशोधन रहित ६ हजार १ सय ३७ र संसोधन सहित ४ हजार ३ सय ३१ रहेको छ । जिल्ला प्रशासन कार्यालयबाट संसोधन रहित ४ हजार २ सय १३ र संसोधन सहित ४ हजार १ सय ३२ रहेको छ । मंगलबारेबाट १ हजार ८८ जनाले संसोधन रहित र १ सय ९९ जनाले संसोधन सहित नागरिकताको प्रतिलिपि लिएका छन् ।
पशुपतिनगरबाट ८ सय ३६ जनाले संसोधन रहित प्रतिलिपि लिएका छन् । यसैगरी, सोही अवधिमा ६ जनाले नागरिकता प्रमाणपत्र परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा ५ जनाले र इलाका प्रशासनमा १ जनाले नागरिकता परित्याग गरेका हुन् । जिल्लामा दोहोरो नागरिकता भएको कारण २ जनाको खारेज गरिएको छ । जिल्लाबाट नाबालक परिचयपत्र पनि १ सय ४२ जनाले प्राप्त गरेका छन् ।
कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा ४ करोड २१ लाख २९ हजार ८ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ । राहदानी, प्रशासनिक जरिवाना, हातहतियारसम्बन्धी राजस्व र अन्य प्रशासनिक शुल्कबाट राजस्व संकलन भएको हो । सबैभन्दा ठूलो हिस्साको योगदान राहदानी राजस्वबाट आएको छ । राहदानीबाट ४ करोड १५ लाख ८५ हजार राजस्व रहेको छ । प्रशासनिक दण्ड जरिवानाबाट रु. ५४ हजार ८ सय १० , हातहतियार राजस्वबाट रु. ७९ हजार ५ सय र अन्य प्रशासनिक शीर्षक संघसंस्था दर्ता नविकरणबाट ४ लाख ११ हजार ६ सय ३० रुपैया संकलन भएको छ ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा ४ लाख ६३ हजार ४ सय ८२ रुपैया ५३ वेरुजु देखिएकोमा ४ लाख ६३ हजार १ सय ५२ रुपैया १३ पैसा सम्परीक्षणका लागि मन्त्रालयमा पठाइएको छ आर्थिक वर्ष २०८१÷८२ मा इलाम जिल्लामा ७ जना द्धन्द्ध पिडित परिवारलाई जीवन निर्वाह भत्ता बापत ५ लाख १६ हजार रुपैया वितरण गरिएको छ । विभिन्न दैवी विपद् पीडितहरू २४ परिवारलाई नगद राहत वितरण गरिएको छ ।
आगलागीबाट प्रभावित दुई परिवारलाई ३० हजार रुपैयाँ प्रदान गरिएको छ बाढी र पहिरोबाट प्रभावित २२ परिवारले दुई लाख ४२ हजार रुपैयाँ राहत प्राप्त गरेका छन् । जसमध्ये मृत्यु भएको एक जनाको परिवारलाई २ लाख रुपैया र बाँकीलाई १ लाख ४२ हजार वितरण गरिएको हो ।
बजार अनुगमनलाई समेत प्रशासनले अघि बढाएको थियो । वर्षभरिमा विभिन्न पसलहरूमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका र मूल्य उल्लेख नभएका सामग्रीहरू जफत गरिएर नष्ट गरिएको छ । अनुगमनका क्रममा खाध्यान्न, औषधि पसल, होटल, माछा मासु पसल र हाडवेयर गरि ८९ वटा पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा २३ हजार ८ सय १७ रुपैया बराबरको अवैध वा गुणस्तरहीन सामग्री जफत गरिएको जनाइएको छ ।
दैविक विपद्बाट प्रभावित २४ परिवारका लागि इलाममा अस्थायी आवास निर्माण तथा अनुदान वितरण भएको थियो । जसमध्ये सन्दकपुर गाउँपालिकामा २० परिवार र देउमाई नगरपालिकामा ४ परिवार रहेका छन् । सन्दकपुरमा अस्थायी आवास निर्माण सम्पन्न भएकाले अन्तिम किस्ताको रुपमा २५ हजारको दरले रकम दिइएको छ ।
देउमाईमा समेत २५ हजारको दरले रकम दिइएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । सन्दकपुर गाउँपालिकामा १ घरपरिवारबाट अस्थायी आवास निर्माण नगर्ने भनेर रकम फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले विपद व्यवस्थापनका लागि क्रियाशिल सरकारी तथा गैरसरकारी र सुरक्षा निकायसंग समन्वय गरेर विपद प्रतिकार्यमा तयारी रहेको जनाएको छ ।
कार्यालयले विपद व्यवस्थापनका लागि नेपाल सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि ४ सय ४५ जना विपद व्यवस्थापनका लागि जनशक्ति तयारी अवस्थामा रहेको जनाइएको छ । द्रुत प्रतिकार्यका लागि तीन वटै सुरक्षा निकायबाट ३५ जनाको दरले तयारी रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, प्रशासकिय अधिकृत हरिकुमार थापा, शाखाका प्रमुख एवम जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो । संचारकर्मीहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद व्यवस्थापन लगायतका बिषयहरुमा प्रश्न र जिज्ञासा राखेका थिए ।संचारकर्मी एवम पत्रकारहरुले प्रत्येक ३ महिनामा कार्यालयबाट अन्तरक्रिया र छलफल राख्न सुझाव दिएका छन् ।
संचारकर्मीहरुको प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी नेपालले कतिपय कानुनी कठिनाईका कारण नागरिकता प्राप्त गर्न समस्या रहेको बताइन् । उनले कानुन अनुरुप सेवा प्रवाह हुँदै आएको बताइन् । उनले कार्यालयले प्रत्येक ३ महिनामा आयोजना गर्ने सुचना अधिकारीहरुसंगको नियमित बैठकमा पत्रकारहरुलाई समेत सहभागि गराइने बताइन् ।
कतिपय सेवाग्राहीले दर्ताका क्रममा उपलब्ध गराएको मोवाइल नम्बर परिर्वतन गर्नाले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । परिचयपत्र पत्र प्रिन्ट भएर आएपछि मोवाइलमा मेसेज आउने गरेको छ । जनशक्ति अभावका कारण प्रत्येक सेवाग्राहीलाई सम्पर्क गरेर जानकारी गराउन समस्या रहेको प्रजिअ नेपालले बताइन् । परिचयत्रपत्र प्रिन्ट भएर आएका कतिपय सेवाग्राहीहरु बैदेशिक रोजगारीका क्रममा रहेकाले लिन नआएको उनले बताइन् ।