Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक, ४३ करोड ६१ लाख बजेट

सन्दकपुर गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक, ४३ करोड ६१ लाख बजेट

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १६ २०८२


सन्दकपुर गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक, ४३ करोड ६१ लाख बजेट

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । चालु आवको लागि कूल ४३ करोड ६१ लाख ८२ हजार २ सय १४ रुपैयाको बार्षिक बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो ।

पालिकाले गत आर्थिक बर्षमा ४२ करोड ४९ लाख ३१ हजार चार सय ४२ रुपैया बजेट सार्वजनिक गरेको थियो । बिहिबार सन्दकपुर गाउँपालिका–३ स्थित सेमेन्चोङ भवनमा आयोजित कार्यक्रममा प्रदेश सांसद खिनु लङवा लिम्बु र जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हुन् ।

सन्दकपुरले आन्तरिक आम्दानीबाट २ करोड ४४ लाख ८६ हजार ३ सय ६३ रुपैयाँ, जनसहभागिता बापत ५७ लाख ३३ हजार ८ सय ३० रुपैयाँ, संघीय सरकार समानीकरण अनुदान आठ करोड ४० लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख ९५ हजार रुपैयाँ, संघीय सरकार राजस्व बाँडफाँडबाट ७ करोड ८२ लाख ८८ हजार २१ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकार सवारी साधन करबाट ६१ लाख २४ हजार रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदान १ करोड ४० लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान चालु १५ करोड ८३ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान पूजिँगत अनुदान ३ करोड ६ लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान चालु ९ लाख ८० हजार रुपैयाँ र प्रदेश सरकार सशर्त अनुदान पूजिँगत अनुदान ६८ लाख ५० हजार रुपैयाँ प्राप्त हुने  छ ।

संघीय सरकार समपुरक अनुदान ८७ लाख र संघीय सरकार विशेष अनुदान १ करोड ४ लाख रुपैया आम्दानी विनियोजन गरेको छ । सन्दकपुरले विषयगत क्षेत्रतर्फ आर्थिक विकास क्षेत्रमा ५ करोड ११ लाख ७८ हजार ४ सय ६० रुपैयाँ, सामाजिक विकास क्षेत्रमा २१ करोड १५ लाख ५७ हजार ५ सय रुपैयाँ, पूर्वाधार विकास क्षेत्रतर्फ ६ करोड २० लाख ३ हजार ५ सय ७२ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड १५ लाख ४२ हजार ८ सय ३० हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ८ करोड ९८ लाख ९० हजार ८ सय ५२ रुपैयाँ बिनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद लङ्वा, उपाध्यक्ष हरिबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, राजनीतिक दल तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा शिक्षा, राजस्व संकलन लगायत विभिन्न बिषयमा योगदान गर्नेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सन्दकपुर गौरवको रुपमा सगरमाथा आरोह गरेका भारतीय सेनामा कार्यरत सन्दकपुर–१ का राजेन्द्र सुनुवार मुखियालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा एसईई र आधारभुत तहमा पालिका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ ।

आधारभुत तहमा श्यामवल माविबाट ३.८१ जिपिए ल्याउने इशा गुरुङ र सेनु राई, माइपोखरी एकाडेमीबाट ३.७४ जिपिए ल्याउने सिद्धार्थ बुर्जा मगरलाई सम्मान गरिएको छ । एसईईमा सरस्वती माविबाट ३.७० जिपिए ल्याउने सुलोचना गड्तौला र ३.५५ जिपिए ल्याउने सम्पन्न सापकोटा समेत सम्मानित भएका छन् । उनीहरुलाई नगद १६ हजार र कदरपत्रले सम्मान गरिएको छ । उत्कृष्ट विद्यालयको रुपमा सरस्वती मावि र उत्कृष्ट राजस्व संकलक कालापोखरीका पेम्बा शेर्पालाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लङ्वा, जिसस प्रमुख राई, नेकपा एमाले सन्दकपुर अध्यक्ष दिपक गुरुङ, नेपाली कांग्रेसका सन्तोष खतिवडा, समाजसेवी प्रेम नाछिरिङ राई, देवन्द्र सुवेदी, मंगोल नेश्नल अर्गनाइजेसनका अध्यक्ष राम राई र सम्मानित सगरमाथा आरोही सुनुवारले शुभकामना मन्तव्य राखेका थिए ।

साथै सोही कार्यक्रममा आ.व २०८०/०८१ को अन्तिम चौमासिक सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममा विकास निर्माण, सुशासन, कृषि लगायत विविध विषयमा ९ जनाले गुनासो र सुझाव राखेका थिए । सहभागीहरुको प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, वडा नं २ का अध्यक्ष सनम राई र वडा नं ३ का अध्यक्ष लिल बहादुर बुर्जाले दिएका थिए ।

वडा नं १ का अध्यक्ष एवम प्रवक्ता रहर कुमार राईले स्वागत गरेको कार्यक्रमको औचित्य माथि गाउँपालिका उपाध्यक्ष लुङ्गेलीले प्रष्ट पारेका थिए । आन्तरिक लेखा परिक्षक सरोज दाहालले आर्थिक बर्ष ०८१/८२ को बार्षिक प्रगति समिक्षाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन लेखा अधिकृत युवराज नेपालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार