फिक्कल । मानिसको मृत्यु हुँदा समवेदनका लागि फ्रेममा श्रद्धाञ्जली र समवेदन पत्र लिए जाने गरिन्छ । तर सूर्योदय नगरपालिका–९ ले यस आर्थिक बर्षबाट नयाँ अभ्यास स्वरुप फ्रेम नदिएर श्रद्धाञ्जली बाटिका बनाउने भएको छ । आर्थिक बर्ष भरी वडामा मृत्युु भएको ब्यक्तीहरुको नाममा गरिने प्रत्येक वर्षको श्रद्धाञ्जलि सभामा, वडाभित्रको उपयुक्त स्थानमा एक मृतकको सम्झनामा एक बिरुवा रोपिने भएको हो ।
‘वडा भरि मृत्यु भएका नागरिकहरुको घरमा वडाले एउटा गमला र विरुवा लिएर जानेछ । परिवारको सदस्यले स्मृतिमा आफुलाई पायक पर्ने स्थानमा गमला र विरुवा राख्नुहुनेछ ।’ वडा सचिव टंक राईले भने ‘ फ्रेम लिएर जाने प्रचलनको विकल्पको रुपमा वडाले श्रद्धाञ्जली बाटिका भन्ने अवधारणा अघि बढाएको हो ।’ बिरुवासँगै मृतकको नाम, जन्म र मृत्यु मिति सहितको सानो नेमप्लेट राखिने वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।
मृतक परिवार र वडाको तर्फबाट संयुक्त रूपमा कार्य गरिने उनले बताए । वडाबाट मृतकको सम्झनामा एउटा गमला र बिरुवा रापिनेछ । “यो बिरुवा सधैं सम्झनाको रूपमा फुलिरहोस” भन्ने स्टिकर सहित परिवारलाई हस्तान्तरण गरिन्छ । साथै वडामा “वडा स्मरण पञ्जिका“ समेत राखिने भएको छ । वडा स्मरण पञ्जिकामा वडाको तर्फबाट श्रद्धाञ्जलि सन्देश सहित मृतकको नाम र परिचय लेखिन्छ ।
प्रचारमुखी नभएर भावनात्मक अभिलेखिकरण र सम्झनालाई शालिन ढंगले बचाइ राख्ने प्रयास भएको उनले बताए । साउन ७ गते आर्दश टोल पान्दाकी ६० बर्षिया श्यामकुमारी राराहाङ र साउन ८ गते आरिदाङ टोलका ८१ वर्षीय कबिरमान सुनुवार मुखियाको स्मृतिमा पहिलो विरुवा रोपिएको छ । पहलले वडालाई वातावरणमैत्री बनाउने दिशामा योगदान दिने र मृतकको स्मृतिमा रोपिएको बोट शान्तिको सन्देश बोक्ने शर्माले बताए ।
