फिक्कल । इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेट मध्ये ८८.६ प्रतिशत प्रगती हासिल गरेको छ । पालिकाले गत आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ता बाहेक विनियोजन गरिएको १ अर्ब २ करोड ५४ लाख ६२ हजार ५ सय बजेट मध्ये ९० करोड ८६ लाख ३२ हजार ८६ रुपैयाँ ६९ पैसा खर्च गरेको हो । नगरले सामाजिक सुरक्षा भत्ता सहित १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय विनियोजन गरेको थियो ।
नगरसभाको १५औं अधिवेशनको ५औं बैठकबाट पारित बजेटको क्षेत्रगत खर्च विवरण अनुसार नगरपालिकाले विकास र सेवाप्रवाहमा केन्द्रित बजेट खर्चलाई प्राथमिकता दिएको थियो । बजेट कार्यान्वयन विवरण अनुसार, पुँजीगत खर्च ३१ करोड २६ लाख ५० हजार ८६५ रुपैयाँ ५८ पैसा अर्थात ८८.४६ प्रतिशत र चालु खर्च ५९ करोड ४९ लाख ८१ हजार २२१ रुपैयाँ ११ पैसा अर्थात ८८.६७ प्रतिशत पुगेको छ ।
नगरपालिकाले आर्थिक विकास क्षेत्रमा रु. १० करोड ५७ लाख ५७ हजार विनियोजन गरेकोमा ६ करोड ९७ लाख ८३ हजार ५६५ रुपैयाँ ५८ पैसा खर्च (७९.७२%) गरिएको छ । सामाजिक विकास क्षेत्रमा रु. ४९ करोड ३७ लाख २२ हजार बजेट छुट्याइएकोमा ४५ करोड ६२ लाख ६२ हजार ४७७ रुपैयाँ ५० पैसा खर्च (९१.११%) भएको छ ।
त्यस्तै, पूर्वाधार विकासका लागि विनियोजन गरिएको रु. २६ करोड ४१ लाख २९ हजारमध्ये २२ करोड ७३ लाख ९१ हजार ५४५ खर्च (९२.४३%) भएको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा छुट्याइएको ६ करोड ८० लाख ३ हजारमध्ये ३ करोड ६७ लाख ३२ हजार ८८७ रुपैयाँ ४० पैसा खर्च (८०.३%) गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित १६ करोड ३० लाख १६ हजारमध्ये ११ करोड ८४ लाख ६१ हजार ६११ रुपैयाँ २१ पैसा खर्च (८१.४५%) गरिएको छ । नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउने, पूर्वाधार विस्तार गर्ने, सामाजिक समावेशिता र सशक्तीकरणमा जोड दिने नीति अनुरूप बजेट खर्चलाई तीव्रता दिएको बताएको छ ।
बजेटको प्रभावकारी कार्यान्वयनका लागि योजना अनुगमन तथा मूल्यांकनमा विशेष जोड दिइएको नगर उपप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए । सूर्योदय नगरपालिकाको बजेट खर्च अनुशासन, पारदर्शिता र परिणाममुखी दृष्टिकोणमा आधारित रहेको भन्दै आगामी दिनमा थप सुदृढ व्यवस्थापन र कार्यान्वयन प्रणालीलाई प्रभावकारी बनाउने उनले बताए ।