इलाम । इलाम नगरपालिका १० गोदक स्थित माईखोला राजदुवाली । त्यहि माइखोला किनारमा अवस्थित छ, माइभगवती बृद्धाश्रम । जहाँ जीवनका अन्तिम पलहरू बिताइरहेका बृद्धबृद्धाहरू आश्रय पाउँछन् । यसैबीच सोहि आश्रममा आश्रय लिइरहेकी एक वृद्धाको अघि केही दिन निधन भएपछि मानवताको उदाहरणीय कथा उदाएको छ । वृद्धाश्रमकी ती वृद्धाको निधनसँगै त्यहाँ कार्यरत एक कर्मचारीले आफ्नो मानव धर्म निर्वाह गर्दै उहाँको १३ दिने काजकिरिया बसेका छन् ।
हिन्दू परम्परा अनुसार, दिवंगत व्यक्तिको अन्त्येष्टि र कर्मकाण्ड परिवारका सदस्यले गर्ने चलन छ । तर जब आश्रममा आश्रित मृतक ६७ बर्षिया धनमाया घिमिरेको आफन्त कोही पनि थिएनन्, तब आश्रममै कार्यरत कर्मचारी भिम रिजालले आफ्नै आमा जस्तै सम्झेर पुत्रको धर्म निभाउँदै किरियापुत्री बने । नाताका हिसाबले कोही नभएपनि कर्तव्य र मानवीय संवेदनाको आधारमा आफू किरियापुत्री बसेको उनले बताए ।
बृद्धा घिमिरेको मृत्युपछि घटेको घटनाले सम्पूर्ण समुदायलाई मानवताको गहिरो सन्देश दिएको छ । उनी अबिबाहित थिइन् । उनको परिवारमा दाजुभाई, दिदिबहिनी थिए । तर, समयसँगै परिवार टाढियो, सम्बन्ध हरायो । मृत्युको बेला उनको आफनो आफन्त कोही थिएन । शब समेत बृद्धाश्रम सञ्चालक समितिले उठाएको थियो ।
समितिले उनको मात्र हैन आश्रम स्थापना भएदेखि हालसम्म आश्रममा आश्रित २० जना बृद्ध बृद्धाको शब उठाएर उनीहरुको जातिय संस्कार अनुसार अन्त्येष्ठी गरेर काजकिरीया गर्दै आएको आश्रम सञ्चालक समिति अध्यक्ष अनुजा शिबाकोटीले बताइन । २०६३ सालमा बृद्धाश्रम स्थापना भएको हो । यो आश्रम महिला जागरण संघ इलाम मार्फत सञ्चालनमा रहेको छ ।
हाल आश्रममा दुई पुरुष र आठ महिला गरि दशजना आश्रित छन । आश्रममा रहेका मध्ये आर्थिक बर्ष २०८१–८२ मा मात्रै चारजनाको निधन भइसकेको महिला जागरण संघकी कर्मचारी कमला राया घिमिरेले जानकारी दिइन । माइभगवती बृद्धाश्रमको यो कथा, केवल एउटा मृत्युको खबर होइन यो मानवता, सेवा र संवेदनाको गहिरो सम्बन्ध हो ।
जब समाज बिर्सन्छ, त्यही समाजका केही संवेदनशील मनहरूले देखाउँछन् आशा र करुणाको उज्यालो । माइभगवती वृद्धाश्रमले आश्रय मात्र होइन, सम्मान साथ अन्त्य समेत दिलाउने संस्कार बोकेको संस्थाको रुपमा आफूलाई स्थापित गर्दै आएको छ ।