इलाम । इलाममा रहेको खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामलाई धनकुटा स्थित कार्यालयमा गाभ्ने निर्णयको इलाम राजनीतिक दल र प्रतिनिधिसभा सदस्यले गम्भिर ध्यानाकर्षण गराएका छन् । राजनीतिक दलले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय सांसद सुहाङ नेम्वाङले खानेपानी मन्त्री प्रदिप यादवको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका सचिव निरज खड्गी, नेकपा एमालेका उपाध्यक्ष उदयबहादुर राई, नेकपा माओवादी केन्द्रका संयोजक तेज बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि धन बहादुर थापा, जसपाका अध्यक्ष क्षिकिन तामाङ र नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य भक्त केसीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा लेखिएको छ ‘प्रस्तुत विषयमा संघीय संरचना अनुसार खानेपानी तथा सरसफाई सेवालाई जनस्तर सम्म सहज, सुलभ र प्रभावकारी रुपमा पुर्याउन इलाम जिल्लामा स्थापित नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामलाई धनकुटा स्थित कार्यालयमा गाभ्ने निर्णय भई चालु आ.व. २०८२÷०८३ बाट कार्यान्वयन प्रकृया अघि बढाइ इलाम स्थित कार्यालयलाई स्थानान्तरण गर्न लागिएको विषयले इलाम जिल्ला स्थित हामी सवै राजनैतिक दलहरुलाई गम्भिर र मर्माहत बनाएको व्यहोरा अवगत गराउदै खेद प्रकट गर्दछौं।’

यसअघि पनि इलाममा जिल्लामा रहेको संघीय कार्यालयहरु अन्य जिल्लामा स्थानान्तरण गर्ने कार्यले दुखित तुल्याएको राजनीतिक दलको ठहर रहेको छ । भौगोलिक रुपमा विकट दुरदराजका क्षेत्रहरुमा विकराल रहेको खानेपानी जस्तो आधारभुत आवश्यकता र मानव जीवनसँग प्रत्यक्ष जोडिएको सेवा प्रवाह गर्ने कार्यालयलाई रोक्न प्रधानमन्त्री र अन्य सरोकारबाला मन्त्रालयहरुलाई ध्यानाकर्षण गरिएको छ ।
धोविधारामा रहेको कार्यालय मार्फत इलामका अतिरिक्त पाँचथर र ताप्लेजुङ जिल्ला समेत खानेपानी तथा ढल व्यवस्थापनको कार्य गर्दै आएको छ । ज्ञापनपत्रमा पुर्व प्रधानमन्त्री श्री झलनाथ खनाल, अर्थमन्त्री, खानेपानी मन्त्री प्रदिप यादव, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङमा बोद्धार्थ दिइएको छ ।
नेम्वाङले गराए खानेपानीमन्त्रीको ध्यानाकर्षण
प्रतिनिधि सभा इलाम क्षेत्र नं.–२ सांसद सुहाङ नेम्बाङले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर इलामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम कार्यालयलाई धनकुटा सार्ने निर्णय गम्भीर र अनुचित भएको विषयमा गम्भीर ध्यानाकर्षण गराए । उनले उक्त निर्णय तत्काल खारेज गरी कार्यालय यथावत् इलाममै कायम राख्न आग्रह गरेका छन् ।

नेम्बाङले यस विषयमा विगतदेखि नै मौखिक आग्रह गर्दै आएका थिए । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक अनुरोध पत्र समेत बुझाएको जनाइएको छ । भेटको क्रममा सो पत्र खानेपानी मन्त्रालयमा समेत पेश गरिसकेको जानकारी मन्त्रीलाई गराए ।
