इलाम : एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हास्य टेलिफिल्म “जिन्दगी लफडै लफडा” यहि श्रावण ६ गते मंगलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध पक्षलाई समेटेर बनाइएको यस टेलिफिल्मले दर्शकलाई हास्यसहितको गहिरो सन्देश दिन खोजेको निर्माण पक्षको भनाइ छ।
इलामको ऐतिहासिक सिमावर्ती बजार सूर्योदय नगरपालिका–१ मंगबालरे मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, चलनचल्तीका शब्द र सामाजिक परिवेशलाई नजिकबाट चित्रण गरेको छ। हिमाल, पहाड, तराई र छिमेकी देश भारत, साथै विदेशिएका नेपाली दाजुभाइहरुको कथा समेत जोडिएको टेलिफिल्मले नेपाली समाजको समग्र जीवनशैली उजागर गर्ने प्रयास गरेको छ।
निर्देशक तथा कथाकार हिकस राईका अनुसार, टेलिफिल्ममा हाँस्य र भावनात्मक दुबै आयाम समेटिएको छ — “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन। टेलिफिल्मामा इलामे युवा पत्रकार बिक्रम सुन्दासले मोहनलाल पात्रको भुमिका निभाएका छन , त्यसै गरी मोडल मुकेश गुरुङले चुलबुलेको भुमिका निभाएका छन ।
साहिल कार्कीले भैरे, विपना लेप्चाले आमा, हेम गेशाले देशी कान्छा, निकिता राईले चाँचरी, कुलमित लेप्चाले ठुली, प्रमोद सुब्बाले सालो, सुचन सम्पाङ राईले छोरा र हिकस राईले विदेशीको भुमिकामा अभिनय गरेको निर्देशक राईले जानकारी दिए । यस टेलिफिल्मलाई एचकेआर इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। टेलिफिल्मलाई दर्शक स्रोताले मन पराउने र माया गरिदिनुहुने अपेक्षा सिंगो टिमले गरेको बिक्रम सुन्दासले बताए ।