सन्दकपुर : राँके स्मृति नकाउट फुटबल प्रतियोगितामा ८० बर्ष माथिको जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । प्रतियोगिता आयोजक सन्दकपुर खेल संघले प्रतियोगिताको दौरान मैदान आसपास रहेका ८० बर्ष माथिको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
विगतका समयमा सन्दकपुर–४ माबु क्षेत्रमा खेलकुद र सामाजिक क्षेत्रमा योगदान गरेको आधारमा १२ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको आयोजक समितिका अध्यक्ष रेखा गुरुङले बताए । मैदान आउन नसक्ने जेष्ठ नागरिकका परिवारले सम्मानपत्र ग्रहण गरेका थिए ।

उनले समाजलाई अभिभावकत्व प्रदान गर्ने जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । उनले सन्दकपुर खेल संघले प्रतियोगिता आयोजना गर्न मात्र नभएर सामाजिक दायित्वलाई समेत संगसंगै अघि बढाएको बताए ।

सन्दकपुर खेल संघले गाउँपालिका क्षेत्रको स्थानीय प्रतियोगितामा पहिलो पटक उमेर समुहको फुटबल समेत संचालन गरेको छ । संघले सन्दकपुर क्षेत्रमा ६ वटा विद्यालयलाई समावेश गरेर यु–१४ फुटबल प्रतियोगिता संचालन गरेको थियो ।

ग्रासरुट फुटबललाई अघि बढाउने उद्धेश्यले प्रतियोगिता गरिएको अध्यक्ष गुरुङले बताए । क्लबका उपाध्यक्ष बुद्धिसागर सुवेदीले आगामी बर्ष समेत उमेर समुहको प्रतियोगितालाई निरन्तरता दिइने बताए ।
अन्तर विद्यालयको प्रतियोगिताको उपाधि प्रवोध माविले जितेको छ । इस्ट स्काई अंग्रेजी बोर्डिङलाई हराउँदै प्रवोधले उपाधि जितेको हो ।
