सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा संचालित राँके स्मृति नकाउट फुटबलको फाइनल खेल हुँदैछ । सन्दकपुर खेल संघको आयोजनामा संचालित प्रतियोगिताको खुल्ला र अन्तर विद्यालय यु–१४ को फाइनल खेल हुँदैछ ।
खुल्ला तर्फ इलाम गुरुङ समाज र एमएनओ माइमझुवा भिड्दैछन् । इलाम गुरुङ समाजले इङला वारियर्सलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । एमएनओले माबु युनाइटेडलाई समेत ३–१ गोल अन्तरले हराएको थियो ।
अन्तर विद्यालयमा प्रवोध मावि र इस्ट स्काई अंग्रेजी विद्यालय भिड्दैछन् । प्रवोधले चन्द्रोदय आवि आलुबारीलाई टाइब्रेकरमा हराएको हो । इस्ट स्काईले वाकओभर पाउँदै फाइनलमा स्थान बनाएको हो ।
युवा आवि टारी प्रतियोगिताको लागि अयोग्य भएपछि इस्ट स्काई फाइनल प्रवेश गरेको हो । इस्ट स्काईले पहिलो खेलमा सन्दकपुर अंग्रेजी विद्यालय र प्रवोधले सरस्वती माविलाई हराएको थियो ।
प्रवोध माविको खेलमैदानमा संचालन भएको प्रतियोगितामा इलामका ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले ५१ हजार र उपविजेताले २६ हजार १ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
अन्तर विद्यालयको विजेताले १० हजार र उपविजेताले नगद ५ हजार प्राप्त गर्नेछ । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्ड र उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ । आयोजकले सहभागि खेलाडीहरुको बिमा समेत गरेको छ ।
सन्दकपुर गाउँपालिका भित्र संचालन हुने फुटबलमा पहिलो पटक सन्दकपुर खेल संघले बिमा गराएको हो । खेल दौरान खेलाडीमा गम्भिर चोटपटक लागेमा १ लाख रुपैयाको जोखिम बहन गरिएको छ ।
प्रतियोगितामा मैदान आसपासका क्षेत्रका जेष्ठ नागरिकहरुलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको छ ।