Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फरार दोषीसंग नाम मिलेपछि सन्दकपुरका ७६ बर्षिय तिल बहादुर २० दिन थुनामा

फरार दोषीसंग नाम मिलेपछि सन्दकपुरका ७६ बर्षिय तिल बहादुर २० दिन थुनामा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २ २०८२


फरार दोषीसंग नाम मिलेपछि सन्दकपुरका ७६ बर्षिय तिल बहादुर २० दिन थुनामा

इलाम — “सय दोषी छुटुन् तर एक निर्दोषले सजाय नपाओस्“ भन्ने न्यायको मान्यतालाई सन्दकपुरका तिल बहादुर गुरुङले अनुभूति गर्नुप¥यो। सन्दकपुर गाउँपालिका–५ का ७६ वर्षीय गुरुङ निर्दोष हुँदाहुँदै २० दिन जेलमा थुनिन बाध्य भए ।

नाम मिलेकै आधारमा २० दिनसम्म इलाम कारागारमा उनी थुनिन बाध्य भए । गुरुङलाई असार १७ गते प्रहरीले पक्राउ गरी असार १८ गते कैद पुर्जी सहित कारागार चलान गरेको थियो। तर ती गुरुङ २०३८ साल जेठ १२ मा कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैदको फैसला सुनाइएका प्रतिवादी नै नभएको पुष्टि भएको छ।

पक्राउ परेका गुरुङ र पुरानो मुद्दाका दोषी फरक व्यक्ति भएको ठहर गर्दै इलाम उच्च अदालत विराटनगर इलाम इजलासले साउन १ गते बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा गर्न आदेश दिएको हो । तिलबहादुरका परिवारका अनुसार गिरफ्तारीको खबरले उनीहरू छक्क परे “जानुपर्छ इलाम भनेर बैनीहरूले सोध्थे, ५–६ वर्षमा एकपटक आउनुहुन्थ्यो,“ उनले सुनाए, “तर जेल चलान गरिएछ ।“

तिलबहादुर आफैं पनि पक्राउ पर्दा अचम्म परेका थिए। “बेलुका ६ बजे थुने, कुन मुद्दामा हो थाहा थिएन,“ उनले भने, “पछि मात्र कागज पढ्दा थाहा भयो।“परिवारले तुरुन्तै उच्च अदालत इलाममा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे। रिट दायरपश्चात अदालतले घटनाको अध्ययन गर्दै जिल्ला अदालतले पठाएको कैद पुर्जी समेत कानुनी रूपमा त्रुटिपूर्ण भएको ठहर ग¥यो।

साविक ४ नम्बर वडाका दोषीको सट्टा ७ नम्बरका गुरुङ पक्राउ परेको पुष्टि भएपछि अदालतले तिलबहादुर गुरुङलाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। तिलबहादुरका छोराले भने, “बुबा निर्दोष हुनुहुन्थ्यो, त्यसैले हामीले सबै प्रमाण जुटाएर रिट दायर गरेका थियौं। अन्ततः बुबा निर्दोष प्रमाणित भएर रिहा हुनुभयो।”

यो घटनाले प्रहरी र प्रशासनको अनुसन्धानमा गम्भीर कमजोरी रहेको देखाएको छ। निर्दोष नागरिकलाई झुटो आरोपमा जेल हालिनु आपत्तिजनक मात्रै होइन, मानव अधिकारको गम्भीर उल्लङ्घन हो भन्ने पुनः पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार