इलाम : इलामका पुर्व वन अधिकृत गजेन्द्र श्रेष्ठले नेपालकै कान्छो डिभिजनल वन अधिकृतको रूपमा पद बहाली गरेका छन् । गत असार १७ गते प्रकाशित प्रदेश लोक सेवा आयोग विराटनगरले प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, अधिकृत स्तर नवौँ तह, डिभिजनल अधिकृतको नतिजामा उर्तिण भएसंगै श्रेष्ठ वन कार्यालय प्रमुख बनेका हुन् ।
उनी उदयपुर डिभिजन वन कार्यालयमा पद बहाली गरेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ निवासी श्रेष्ठ यस अघि इलाम जिल्लामा वन अधिकृतको रूपमा कार्यरत रहेका थिए । श्रेष्ठका बुबा दान बहादुर श्रेष्ठ समेत हाल भोजपुरका डिएफओ ( दशौँ तह ) रहेका छन् ।
इलाम जिल्लाका पूर्व डिएफओ दान बहादुर र छोरा गजेन्द्र डिभिजन वन कार्यालयमा कार्यरत रहेका थिए । बाबु छोरा एकै कार्यालयमा प्रमुख र उप प्रमुख रहँदा चर्चा पाउने गरेको थियो । यसको रेकर्ड तोड्दै गजेन्द्रले बाबु छोरा नै एकै प्रदेशमा डीएफओ बन्ने रेकर्ड राखेका छन् । ‘म जस्तै कम उमेरमा नवौँ तह उत्तीर्ण गरेका देशमा अन्य दुई जना हुनुहुन्छ । तर डीएफओ पद बहाली गर्ने अवसर पाउने म नै हुँ ।’ उनले भने ।
उनी २०५० साल साउनमा जन्मिएर २०७३ मा रेन्जरको रूपमा वन सेवामा सुनसरीमा प्रवेश गरेका थिए । २०७४ सालमा अधिकृत भएका थिए । रेन्जर, अधिकृत र डीएफओ जनजाति कोटाबाट उत्तीर्ण गर्ने श्रेष्ठले अवसर पाएका हुन् । श्रेष्ठसँगै काम गर्ने हाल धनकुटाका डीएफओ सञ्जीव ढकाल सानै उमेरमा पनि श्रेष्ठ अनुभवी र कुशल कार्य क्षमता भएको व्यक्ति भएको बताए ।
ढकालले गजेन्द्र श्रेष्ठले डीएफओको रूपमा पनि राम्रो कार्य सम्पादन गर्ने क्षमता रहेको बताए । सुत्रधार अनलाइनबाट