इलाम जिल्लाको निजि बिद्यालय मध्ये जिल्लाकै एक उत्कृष्ठ बिद्यालय हो, ग्रीनभ्याली एकाडेमी । यस बिद्यालयले शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको छ । बिगतको एसएलसि देखि होस् या अहिलेको एसइइ परिक्षा । गौरवपूर्ण कीर्तिमान कायम गर्दै आएको छ । हालै प्रकाशित भएको एसइइ २०८१ को नतिजाअनुसार कक्षा १० का सबै ६३ जना विद्यार्थीले ३ दशमलव ०८ देखि ३ दशमलव ८३ सम्मको जिपिए (शतप्रतिशत नतिजा) हासिल गर्दै विद्यालयको प्रतिष्ठालाई नयाँ उचाइमा पु¥याएका छन् ।
यो उपलब्धिले विद्यालयको शैक्षिक अनुशासन, गुणस्तरीय अध्यापन र विद्यार्थीको लगनशीलता प्रतिविम्बित गरेको छ । निरन्तर अभ्यास, नियमित मूल्यांकन, शिक्षकहरूको समर्पण र अभिभावकको साथले विद्यार्थीलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएको बिद्यालयका सञ्चालक कुमार बैद्यले बताउनुभयो । सबै विद्यार्थीले ३ दशमलव ०८ भन्दा माथिको नतिजा ल्याएको बिद्यालय प्रशासन प्रमुख चिन्तामणि चम्लगाइँले बताए।
हरेक वर्ष यस्तो निरन्तरताले ग्रीनभ्यालीलाई इलामकै अग्रणी शिक्षण संस्था बनाएको उहाँको भनाई छ । इलामको शैक्षिक इतिहासमा पुरानो र विश्वसनीय नाम मानिने ग्रीनभ्याली एकाडेमीले शिक्षामा नवप्रवर्तन र समर्पणको दृष्टान्त कायम गर्दै आएको छ । अंग्रेजी माध्यममा कक्षा १ देखि १० सम्म अध्ययन भइरहेको यस बिद्यालयले आउने बर्षबाट कक्षा ११ र १२ पनि सञ्चालनको तयारी गरेको छ ।
यस विद्यालयले बिद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र नभई खेलकुद संगै अन्य अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाउँदै लगेको छ । यसैबीच इलाम नगरपालिका–९ मा रहेको हेरिटेज नेसनल एकेडेमीले यसबर्षको एसइइ नतिजामा जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयका प्रधानाध्यापक सञ्जीव बल तामाङका अनुसार यसै बिद्यालयबाट जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।
६५ जना विद्यार्थीले एसइइ लेखेकोमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । यस्तै एसइइको नतिजामा यसबर्ष पनि जिल्लाका अधिकाँश संस्थागत बिद्यालयले शतप्रतिश नतिजा ल्याएका छन् भने सामुदायिक बिद्यालयको नतिजामा पनि बिगतका बर्षमा भन्दा सुधार आएको छ ।