इलाम । इलाम सदरमुकामदेखि झापाको ब्यापारीक केन्द्र विर्तामोड जोड्ने छोटो दुरीको महत्वाकांक्षी योजनाको रुपमा रहेको केचना-कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । इलाम नगरपालिका-९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडानको काम सकिएको हो । संघीय सरकारको एक करोड ३५ लाख रूपैयाँको लागतमा सगररसुभारम्भरएरिसा जेभीले यो बेलिबृज निर्माणको ठेक्का लिएको थियो । बेलिब्रिज ४८ दशमलव ६ मिटर लम्बाइको रहेको छ ।
‘बेलिब्रिजको जडानको काम सकिएको छ अब थोरै ग्याबिन लगाउन मात्र बाकी छ, समग्रमा काम सकिएको छ’, सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले भने , ‘अब आज दिउसो लोड टेस्टको काम हुन्छ, त्यस पछि उद्घाटन भएपछि संचालनमा ल्याइनेछ ।’ यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण भएको हो । यसअघि पुल नहुँदा यात्रीहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । मध्य बर्खामा करिव तिन महिना भने सो सडक पूर्ण रुपमा बन्द हुने गरेको थियो ।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्खाको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
मंगलबार अनुगमन
जिल्ला प्रशासन कार्यालय इलाम, सडक डिभिजन कार्यालय इलाम सुरक्षा निकायका प्रमुखहरुसहित जिल्ला समन्वय समिति इलाम र इलाम नगरपालिका जनप्रतिनिधि सम्मिलित संयुक्त टोलीले मगलबार निर्माणाधीन सडक सहित बेलीबृजको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वको टोलीले सडक र पुलको अवस्थाको जानकारी लिएको थियो ।
केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ ।
करीब तीन घण्टा लाग्ने मेची राजमार्गको यात्रा आधा छोट्टिएपछि इलामबासी हर्षित छन् । इलाम सदरमुकामबाट गोलाखर्क भञ्ज्याङ, पुवाखोला, सोयाक, बेलासे, चिसापानी र दानाबारी हुँदै झापा खुदुनाबारी भएर बिर्तामोड जोडिने यो मार्गमा अहिले सवारी साधन बाक्लै मात्रामा चल्न थालेको छ । गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ ।
◾