इलाम । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जिपिएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
‘नन-ग्रेडेड’ विद्यार्थीका लागि साउन २९ गतेदेखि मौका परीक्षा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि मौका परीक्षा तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै ननग्रेडड विद्यार्थीहरूले साउन २९ देखि मौका परीक्षा दिन पाउने जनाएको हो।