आमचोक । इलाम फाकफोकथुममा किरात राई यायोक्खा माङहिमको भवन निर्माण तिव्र रुपमा भइरहेको छ । किराँतहरुको पुरानो धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै, थप व्यवस्थापनसहित अगाडि बढाउने उद्देश्यले वडा नम्बर ६ मा निर्माणाधिन माङहिमको पहिलो तला सफलतापूर्वक ढलान गरिएको छ ।
किरात राइ यायोक्खा जिल्ला सहसचिब प्रकाश राईका अनुसार, भवन निर्माणका लागि प्रदेश सरकारले ४ लाख रुपैया सहयोग गरेको छ । स्थानीयहरुबाट रकम संकलन गरेर ५ लाख २० हजार रुपैयाँ बराबरको ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो।
बाँकी आवश्यक खर्च र श्रम भने स्वयंसेवाबाट जुटाइएकाले पहिलो तला ढलान सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए । निर्माण समिति अध्यक्ष नर कुमार राई, गाउँपालिका उपाध्यक्ष कल्पना राई, साइड ईन्जिनियर दिल कुमार राई, वडा अध्यक्ष टंकनाथ खनाल लगायतले भवन अनुगमन गर्दै गुणस्तरिय काम भएको बताए ।
स्थानीय समुदायको सक्रिय सहभागिता र श्रमदानको उदाहरणीय कार्यले किरात संस्कृतिको जगेर्ना र पहिचानको संरक्षणमा यो भवनले ऐतिहासिक महत्व राख्ने अपेक्षा गरिएको छ ।