फिक्कल । पर्यटकीय नगरी सूर्योदयले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि एक अर्ब चालीस करोड रूपैयाँको बजेट पारित गरेको छ । १७ औ नगरसभाको तेस्रो बैठकमा नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले पेश गरेको एक अर्ब चालीस करोड तीन लाख सत्र हजार दुई सय २० रूपैयाँको बजेट पारित भएको हो । नगरसभाको चौथो बैठकमा नगरसभा सदस्यहरूले बजेटको विषयमा धारणा राखेका थिए ।
सभामा मणीराज राई, चन्दा मैनाली, श्याम कृष्ण कटुवाल, विमल राई, पुण्यप्रसाद पोख्रेल, गणेशकुमार खड्का र कमलप्रसाद गड्तौलाले आर्थिक विधेयक र विनियोजन विधेयक र सार्वजनिक महत्त्वको विषयमा ध्यानाकर्षण गराएका थिए ।
नगरसभामा बजेट तथा सार्वजनिक महत्वका प्रस्तावको नगरप्रख रणबहादुर राईले सम्वोधन गरेपछि सभाले बजेट पारित गरेको हो ।
नगर प्रमुख राईले स्रोतको चापको बाबजुद दिगो विकासका लक्ष्य हासिल गर्नेगरी बजेट विनियोजन गरेको बताए । एक अर्ब आठ करोड तीन लाख सत्र हजार ३२० रूपैया स्थानीय सञ्चित कोषबाट र ३२ करोड रूपैयाँ अन्तर सरकारी अख्तियारी अन्तरग संघीय कोषबाट खर्च हुने नगरले प्रक्षेपण गरेको छ । नगरपालिकाले चालू खर्चको लागि ६८ करोड ३१ लाख ३७ हजार २२० रूपैया र पुजीगत खर्चको लागि ३९ करोड ७१ लाख ८० हजार रूपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले कृषि तथा खाद्य सुरक्षा क्षेत्रमा सात करोड ५४ लाख ५० हजार रूपैयाँ , पशुपन्छी विकासमा एक करोड छ लाख ९२ हजार, जलश्राेत तथा सिचाइ क्षेत्रमा एक करोड दुई लाख नौ हजार रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै उद्योग व्यापार व्यवसाय श्रेत्रमा ५८ लाख ६० हजार, पर्यटन तथा संस्कृति क्षेत्रमा दुई करोड ६१ लाख ८० हजार रूपैयाँ , सहकारी व्यवस्थापनमा १६ लाख ५० हजार, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लागि आठ लाख रूपैयाँ श्रम तथा रोजगारी क्षेत्रमा ५८ लाख ७४ हजार ७२० रूपैयाँ , जनसंख्या तथा पोषण क्षेत्रमा नौ करोड २३ लाख ७१ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै शिक्षा कला भाषा र संस्कृति क्षेत्रमा ३७ करोड ५७ लाख ८१ हजार रूपैयाँ , महिला बालबालिका सामाजिक संरक्षण र समावेशीकरण क्षेत्रमा एक करोड ४४ लाख ७१ हजार रूपैयाँ , युवा तथा खेलकुदमा ८० लाख ६९ हजार, वन भूसंरक्षण र जैविक विविधता दस लाख, वातावरण तथा फोहोरमैला व्यवस्थापनमा ७२ लाख ६५ हजार विनियोजन गरिएको छ ।
विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलमा दुई करोड ४९ लाख ५० हजार रूपैयाँ, यातायात पूर्वाधारमा १९ करोड ९० लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले भवन आवास वस्ती र सहरी विकासमा एक करोड ४४ लाख ४६ हजार रूपैयाँ, उर्जा क्षेत्रमा नौ लाख रूपैया , सूचना प्रविधि क्षेत्रमा ४६ लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ ।
पालिकाले आम्दानी तर्फ भने आन्तरिक राजस्व र राजस्व बाडँफाडबाट २२ करोड ५७ लाख ११ हजार रूपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै संघीय सरकारबाट ६४ करोड ४३ लाख रूपैयाँ र प्रदेश सरकारबाट चार करोड ४४ लाख ८१ हजार रूपैयाँ प्राप्तिहुने अनुमान गरिएको छ । नगरसभाको अर्को बैठक असार २१ गते बस्ने छ ।