इलाम । इलामका १० वटै पालिकाले मंगलबार आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक बिकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाले जिल्लाका १० पालिका मध्ये सबै भन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ । सूर्योदयले एक अर्व ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख दुर्गाकुमार बरालले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा भन्दा शुसासनका क्षेत्रमा बजेट केन्द्रित भएको जानकारी दिए । सूर्योदय नगरपालिका यस अघि नै आर्थिक विकासतर्फ देशकै पहिलो भएको थियो । सार्वजनिक गरिएका नीति कार्यक्रम र बजेट अनुसार शिक्षा, स्वास्थ्य, सामाजिक बिकास, कृषि, पशुपाल र पर्यटन क्षेत्रमा बजेट केन्द्रित छ ।
यस्तै इलाम नगरपालिकाले एक अर्व १४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०८२र८३ का लागि ४६ करोड २० लाख ५० लाख ९ सय ९१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार ७ सय ५४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै इलामको चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपियाँको बजेट विनियोजन गरेको छ ।
माङ्सेबुङ गाउँपालिका ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रोङ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट सार्वजनिक गर्न सकेको छैन ।