Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङको शान्तिपुरका ७२ परिवारलाई धनीपुर्जा

रोङको शान्तिपुरका ७२ परिवारलाई धनीपुर्जा

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ३ २०८२


रोङको शान्तिपुरका ७२ परिवारलाई धनीपुर्जा

रोङ : इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका ७२ परिवारले जग्गाधनी प्रमाण–पुर्जा (धनीपुर्जा) प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलामको आयोजनामा रोङ गाउँपालिका–१ शान्तिपुर वडा कार्यालय परिसरमा आयोजित विशेष समारोहमा ७२ परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिएको हो ।

आयोगमा नयाँ नेतृत्व आएपछि देशभर दोस्रो र कोशी प्रदेशमै पहिलोपटक जग्गाधनी प्रमाण–पुर्जा वितरण भएको जनाइएको छ । हरिप्रसाद रिजालको नेतृत्वमा भुमि आयोग गठन भएपछि यसअघि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेलधुराको परशुराम नगरपालिका–१२ का ६४ भूमिहीन परिवारलाई पनि जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको थियो ।

रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन तथा अव्यवस्थित बसोबासीको हक सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

आयोगले अव्यवस्थित बसोबासी र भूमिहीनहरूलाई कानुनी अधिकार दिने मात्र नभई उनीहरूको जीवनमा स्थायित्व, सम्मान र विकासका अवसरहरू विस्तार गर्न यो अभियानलाई प्राथमिकतामा राखेको बताएका छन् ।

कार्यक्रममा कार्यक्रममा आयोगका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारी, कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य काजिमान कागते, धिरेन शर्मा, नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरज खड्गी, नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बराल, रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास लगायतले मन्तव्य राखेका थिए ।

धनीपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाहरूले वर्षौंदेखि आफ्नो बसोबास कानुनी रुपमा सुनिश्चित हुने आशामा पर्खिरहेका थिए । धनीपुर्जा पाएपछि स्थानीय उत्साहित देखिए । धनीपुर्जा पाएसँगै उनीहरूलाई शिक्षा, स्वास्थ्य, घर निर्माणजस्ता सेवामा समेत सहज पहुँच हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले भुमी समस्या समाधान आयोग इलामबाट १५० जनाको धनीपुर्जाको कार्य अघि बढाएपनि पहिलो चरणमा ७२ जनालाई वितरण गरिएको बताए । उनले अन्य वडामा समेत कार्य अघि बढेकाले चाडै नै सबै पालिकाबासी परिवारमा जग्गाको स्वामित्व रहने बताए ।

कार्यक्रममा रोङ गाउँपालिका–१ का वडाध्यक्ष मनोहरी खड्काले स्वागत मन्तव्य राखेका थिए । आयोगले भोली चुलाचुली गाउँपालिकामा धनीपुर्जा वितरण गर्नेछ । आयोगले इलामको माई नगरपालिका, रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र सूर्योदय नगरपालिकाको केही वडामा धनीपुर्जा वितरणको तयारी गरेको जिल्ला अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार