इलाम । दोस्रो अन्तर्राष्ट्रिय गुराँस–रेडपाण्डा महोत्सव २०२५ को अवसरमा ’तुम्लिङ घोषणा’ सार्वजनिक गरिएको छ । भारत–नेपाल सीमावर्ती पर्यटकीय क्षेत्र सिंहलिला–तुम्लिङ–सन्दकपुर मार्गको पारिस्थितिक र सांस्कृतिक महत्वलाई मान्यता दिँदै तथा दिगो पर्यटनको तत्काल आवश्यकतालाई स्वीकार गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो ।
इलामको माईजोगमाई गाउँपािलका–२ मा आयोजित महोत्सवमा सार्वजनिक गरिएको उक्त घोषणामा पर्यटन, संरक्षण र स्थानीय सशक्तिकरणका लागि १० बुँदे कार्यदिशा प्रस्तुत गरिएको छ । घोषणापत्रमा भारत–नेपाल सीमापार सहयोग, शून्य फोहर नीतिको कार्यान्वयन, वन्यजन्तु संरक्षण, महिला सशक्तिकरण, हरित ऊर्जा प्रवद्र्धन, जैविक कृषि तथा ज्ञानमूलक पर्यटनजस्ता बहुआयामिक विषय समेटिएको छ ।
घोषणापत्रमा नेपाल–भारत संयुक्त पर्यटन सर्किट विकास, सीमा पार नियमन समन्वय, साझा निगरानी प्रणाली तथा संरक्षणका लागि संयुक्त समिति गठनको प्रस्ताव गरिएको छ । शून्य फोहर नीति, पर्यावरणमैत्री होटेल–होमस्टेको प्रमाणीकरण तथा संवेदनशील क्षेत्रमा पर्यटक सङ्ख्या नियन्त्रण गर्ने, संवेदनशील वासस्थानमा सीमित पर्यटन, शोषणकारी गतिविधिमा रोक तथा सामुदायिक वन संरक्षणमा सरकारी सहयोगको माग गरिएको छ ।
महिला गाइड तालिम, परम्परागत चाडपर्वको संरक्षण, मौलिक हस्तकलाको प्रवद्र्धन जस्ता कार्यक्रम अघि सारिएको छ । अनिवार्य गाइड व्यवस्था, होटेल तथा होमस्टेमा जवाफदेहिता, नीति कार्यान्वयनमा स्थानीय सरकारको भूमिकालाई सशक्त बनाउने भनिएको छ । स्थानीय जनशक्तिलाई प्राथमिकता, सीप तालिम तथा लघु उद्यम प्रवद्र्धनमा जोड दिइएको छ ।
पदमार्गमा स्वास्थ्य केन्द्र, अक्सिजन सिलिन्डर तथा आपतकालीन सेवा तयारीको आवश्यकता औँल्याइएको छ । सौर्य ऊर्जा प्रवद्र्धन, डिजेल÷पेट्रोल जेनरेटरमा प्रतिबन्ध तथा वर्षा पानी संकलनको अभ्यास प्रोत्साहन गरिनेछ । रासायनिकरहित कृषि प्रणालीलाई प्रोत्साहन गर्दै जैविक उत्पादनको प्रमाणीकरण तथा बजार विस्तार गरिने भइएको छ ।
अनुसन्धानमा आधारित भ्रमण र स्वयंसेवक परिचालनमार्फत पदमार्ग मर्मत, फोहर व्यवस्थापन तथा सामुदायिक शिक्षा प्रवद्र्धन गरिनेछ । यस घोषणामा पर्यटन व्यवसायी, टुर अपरेटर, होमस्टे सञ्चालक, जनप्रतिनिधि, संरक्षणकर्मी, ग्रामीण पर्यटन अभियन्ता, उद्यमी तथा स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।
सहभागीहरूले घोषणालाई कार्यान्वयन गर्न दृढ प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा नेपाल र भारतका पर्यटनकर्मीहरुको सहभागिता रहेको थियो ।