इलाम । इलामको ठुलो टुडिखेलमा जारी कोशी वुमन्स क्रिकेट टी–२० सिरिजमा झापाले मोरङ माथि १ सय रनको फराकिलो जित हात पारेको छ । बाइलेट्रल सिरिज अन्र्तगत दोश्रो खेलमा समेत झापाले फराकिलो जित हासिल गरेको हो । मोरङले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
सुरुवाती व्याटिङमा उत्रिएको झापाले निर्धारित २० ओभरमा १९४ रनको बिशाल लक्ष्य तयार पारेको थियो । झापाका लागि दोश्रो खेलमा समेत कप्तान रुविना क्षेत्री बेलबासीले शतकिय पारी खेलिन् । ६० बलको सामना गर्दै ६ छक्का र ११ चौकाको मद्धतमा बेलबासीले १०१ रन बनाइन् ।
झापाका लागि अप्सरी बेगमले नटआउट ४६ रन बनाइन् । ओपनर लकिता राजवंशीले २९ र रोमा थापाले नटआउट ९ रन बनाइन् । मोरङकी सानु राजवशी बाहेक अन्य बलरले खर्चिलो बलिङ गरे । मोरङकी कृतिशा धामी र समिक्षा राईले १/१ विकेट लिए । विशाल लक्ष्य पछयाउँदै जवाफी व्याटिङमा उत्रिएको मोरङले २० ओभरमा ९४ रन मात्र बनाउन सक्यो ।
ओपनर सानु राजवंशीले ४७ रन र फुलमरी राजवंशीले १२ रन बनाउन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । अर्धशतक नजिक पुगेकी सानु राजवंशी १७ औ ओभरमा रुविना क्षेत्रीको बलमा प्रिया महलाबाट क्याच आउट हुन पुगिन् । त्यसपछि १८ रनमा बाँकी ६ विकेट गुमाउन पुग्यो ।
मोरङको व्याटिङ लाइन धरासायी बनाउन रिया शर्माले ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी शर्माले ३ मेडन राख्दै १ रन दिएर ३ विकेट झारिन् । रुविना क्षेत्रीले २ विकेट लिँदा सवनम राई र संगीता राईले समान १/१ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच रुविना क्षेत्री घोषित भइन् । जितसंगै झापाले ३ खेलको सिरिज जितेको छ ।
झापाको २ जितसंगै भोलीको खेल केबल औपचारिकताको लागि मात्र खेलिने भएको छ । कोशी पर्यटन बर्षको अवसरमा इलाम नगरपालिका र पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा कोशी प्रदेश क्रिकेट संघले प्रतियोगिता संचालन गरेको हो ।