इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा थुनेलो रोग नियन्त्रण कार्यक्रम सम्बन्धी कार्यक्रम गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामको आयोजनामा फाकफोकथुममा २ दिवसीय कार्यक्रम गरिएको हो । जेठ २४ र २५ गते गरिएको कार्यक्रममा थुनेलो रोगको कारण, लक्षण र असरबारे जानकारी दिइएको थियो ।

जसबाट स्थानीय पशुपालकहरूलाई प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्नेछन् । कार्यक्रममा फाकफोकथुम गाउँपालिकाका दुग्द्य उत्पादक किसानहरुको सहभागिता रहेको थियो ।
के हो थुनेलो ?
दुहुना पशुको कल्चौडो र थुनमा समस्या भइ दूध उत्पादनमा कमी गराउने रोगलाई थुनेलो भनिन्छ्र । थुनेलो रोग दुहाना पशुमा आर्थिक नोक्सान गर्ने रोगमध्ये एउटा प्रमुख रोग हो । थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुुन्छन् ।
थुनेलो भएमा थुन, कल्चौडो सुनिने, दूधमा रगत देखिने, साना साना चोक्टा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने गर्छ । दूध उत्पादनमा निकै कमी आउने र समयमा उपयुक्त औषधि उपचार नगरे थुन कानो हुने र थुन झर्न पनि सक्छ ।
लक्षण नदेखिने थुनेलो भएमा कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने गरेको विभिन्न समयमा भएको अध्ययनहरुले देखाउँछ ।