इलाम । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भई प्रदेश सरकार गठनपछि इलामको पर्यटन पूर्वाधार विकासले फड्को लिएको छ । सामान्य पर्यटकीय गतिविधि मात्रै हुँदै आएका पर्यटकीयस्थलको पूर्वाधार विकासमा प्रदेश सरकारको लगानीले इलामका ग्रामीण पर्यटकीयस्थलमा आन्तरिकसँगै बाह्य पर्यटकहरुको चहलपहल बढको छ ।
सूर्योदय नगरपालिका ३ मा अवस्थित बुद्धपार्कमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुन्छ । बुद्धपार्क अहिले कन्याम,अन्तु पछिको भारतीय पर्यटक धेरै पुग्ने गन्तव्यस्थल हो । थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा बुद्धपार्क नयाँ पर्यटकीय गन्तव्य बनेको हो ।
फिक्कल पशुपतिनगर सडकमा पर्ने वौद्यधाममा ६५ फिट अग्लो वुद्धको प्रतिमासँगै पर्यटन पूर्वाधार निर्माण गरिएको छ । बुद्धपार्क क्षेत्रमा हरियाली चियाबारी पनि छ । चियाबारीसँगै पार्क क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकहरुको आवतजावत बढ्दै गएको सूर्योदय नगरपालिका ३ का वडाअध्यक्ष लोकबहादूर प्रधानले बताए ।
उनले भने– ‘ पार्क निर्माणपछि भारतीय पर्यटकले आफ्नो गन्तव्य बनाएका छन् ।’ सीमा क्षेत्र पशुपतिनगरबाट छोटो दुरीमा आइपुग्ने बुद्धपार्क निर्माणमा कोशी प्रदेश सरकारको लागनी ६० प्रतिशत छ । पार्क निर्माणमा सूर्योदय नगरपालिकाले ४० प्रतिशत लगानी गर्दै आएको हो ।

बुद्धपार्क निर्माणमा जुट्दै आएकी प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बु भन्छिन्–‘बुद्ध पार्क निर्माण पुरा त भएको छैन तर अहिले भारतीय पर्यटकहरुको भिडभाड बढेको छ ।’ प्रदेश सरकार गठन भएपछि प्रथम आर्थिक वर्षको बजेटबाट समपुरक अनुदानमा १ करोड ३० लाख लगानी गरेको थियो । प्रदेश सरकारले दोस्रो आर्थिक वर्षमा १ करोड, तेस्रो आर्थिक वर्षमा ७ लाख र चौथो आर्थिक वर्षमा २९ लाख रुपैयाँ लगानी गरेको हो ।
बुद्धपार्क निर्माणको थालनी तत्कालिन मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट आर्थिक वर्ष २०७२÷०७३ मा शुरु भएको थियो । क्रमागत रुपमा संचालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि कोशी प्रदेश सरकारले स्वामित्व लिएको थियो । १७ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको पार्कमा अहिले भारतीय पर्यटकहरुले आफ्नो गन्तव्य भएको सूर्योदय नगरपालिका ३ का पूर्व वडाध्यक्ष होमबहादूर कार्कीले बताए । ८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्नेलक्ष्य लिएको बुद्धपार्कमा अहिलेसम्म ४ करोड रुपैयाँ लगानी भएको छ ।
सन्दकपुर गाउँपालिका ५ मा अवस्थित जौबारी बजार नेपाल–भारत सीमा क्षेत्रमा रहेको ऐतिहासिक बजार हो । जौबारी व्यापारीक केन्द्रको रुपमा बिक्रम सम्वत २०२४ सालमा स्थापना भएको थियो । नेपालमा उत्पादन भएको घिउ, छुर्पी, अलैँची, खाध्यान्न लगायतका सामग्रीको खरिद बिक्रि हुने जौबारी क्षेत्र २०६० सालदेखि सुनसान जस्तै थियो । भारतीय सडक भएर पर्यटक आउने भएपनि नेपालबाट स्थानीयबासी समेत पुग्न सक्ने अवस्था थिएन ।
स्थानीय थेक्तेन लामा भन्छन्–‘देश संघीयतामा गएपछि स्थानीय र प्रदेश सरकारको लगानीले हाम्रो गाउँको मुहार फेरिएको छ ।’ हामी भारतीय पर्यटकहरुको भरमा बाँचेका थियौँ उनले भने–‘प्रदेश सरकारबाट मेची राजमार्गको फिक्कलबाट नयाँबजारसम्म कालोपत्रे गरेको र नयाँबजारबाट जौबारीसम्म सडक स्तरोन्नती भएपछि हाम्रोमा नेपाली पर्यटकहरुले भरि भराउन हुन थालेको छ ।’

जौबारी जोड्ने सडकको १९ किलोमिटर कालोपत्रे र १२ किलोमिटर सडक स्तरोन्नती प्रदेश सरकारबाट भएको हो । जौबारीसम्म सन्दकपुर गाउँपालिकाले पनि सडकले जोडेको छ । सडक स्तरोन्नती भएर जौबारी जोडिएपछि खाध्यान्न बिक्रि गर्दै आएका व्यवसायीहरु पनि पर्यटन व्यवसाय गर्दै आएको सन्दकपुर ५ का वडासदस्य कुमार गुरुङ्गले बताए ।
पछिल्ला दिनमा पर्यटन व्यवसायमा संलग्न भएकी मध्येकी एक हुन् लक्की शेर्पा । उनी भन्छिन्–‘खाध्यान्न खरिद बिक्रि गर्ने हामी पर्यटकको चहलपहल भएपछि पर्यटन व्यवसाय शुरु गरे पनि चल्ने नचल्ने डर थियो तर अहिले राम्रो सँगै आम्दानी भएको छ ।’
सन्दकपुर गाउँपालिका पर्यटकीय गाउँपालिका भएकाले अहिले आन्तरिक मात्रै हैन भारतीयसँगै युरोपका पर्यटकहरु पनि आउने क्रम बढेको छ । जसले गर्दा स्थानीयबासीले गुणस्तरीय सेवा दिन होटल र लज निर्माणलाई प्राथमिकता दिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए । ७ वर्ष अघि इलामबाट जौबारी पुग्नका लागि निकै कठिक थियो । अहिले यात्रा सहज भएकाले पर्यटकको संख्या बढेको गुरुङ्गले बताए । धेरै पर्यटक इलामको फिक्कल हुँदै नयाँबजारबाट जौबारी जोड्ने सडक स्तरोन्नतीले जौबारीमा सहजै पुग्ने गरेका छन् ।
पर्यटकहरु इलामबजार माईपोखरी ढापपोखरी जमुना हुँदै पनि जौबारी पुग्ने गरेका छन् । सडकसँगै पर्यटन पूर्वाधार निर्माण भएपछि जौबारीले अहिले मुहार फेरेको छ । जौबारी पूर्वी नेपालको मुस्ताङको रुपमा परिचित छ । सूर्योदय नगरपालिकाको बुद्धपार्क र सन्दकपुर गाउँपालिकाको जौबारी मात्रै हैन देश संघीय संरचना पछि इलामका पर्यटकीयस्थलमा पूर्वाधार निर्माण सँगै पर्यटकीय चहलपहल पनि बढेको छ ।

कोशी प्रदेश सरकारबाट बिषयगत मन्त्रालयमा इलाममा पूर्वाधार र प्रवद्र्धनमा लगानी हुँदै आएको छ । इलामका पर्यटकीयस्थलमा सडक, पदमार्ग र खानेपानीका क्षेत्रमा कोशी प्रदेश सरकारको लगानी बढी छ । भारत सडक हुँदै दैनिक सयौँ पर्यटक पुग्ने कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडामा सौन्दर्यकरण र पदमार्ग निर्माण गरिएको छ ।
प्रसिद्ध कनकाई माई नदीको मुहान क्षेत्र सन्दकपुर डाँडामा प्रदेश सरकारबाट पर्यटकको सुविधाका लागि आवासगृह समेत निर्माण सकिएको छ । सन्दकपुरबाट नजिकै रहेको आहालडाँडा क्षेत्र जोड्ने पदमार्ग निर्माणले पर्यटकको पदयात्रामा सहज भएको छ । माई नदीको मुहान क्षेत्रमा सौन्दर्यकरण सँगै शौचालय अन्य पूर्वाधार निर्माण भएको पर्यटन व्यवसायी पासाङ रिञ्जि शेर्पाले बताए । उनी भन्छन्–‘पदमार्ग निर्माणले पर्यटकहरुको सन्दकपुर बसाई लम्ब्याउन सहयोग पुगेको छ ।’ यहाँको खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारबाट लिफ्टिङ प्रविधिको खानेपानी आयोजना निर्माण पनि धमाधम भइरहेको छ ।

३ हजार ६ सय ३६ मिटर उचाईमा अवस्थित सन्दकपुर डाँडाबाट नेपाल, भारत, भुटान र चीनको तिब्बतमा अवस्थित ६० बढी हिमश्रङ्खलाहरुको दृश्यमा रमाउन सकिन्छ । यहाँ नेपालबाट सहजै पर्यटक पुर्याउन इलाम बिब्याँटे माबु कालपोखरी हुँदै सडक कालोपत्रे कोशी प्रदेश सरकारबाट हुँदै आएको हो । सडक खण्डको २४ किलोमिटर कालोपत्रेका लागि प्रदेशको लगानी छ । २४ किलोमिटर मध्ये १२ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको सन्दकपुर ४ का वडाध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए ।

सन्दकपुर डाँडामा मात्रै पर्यटन पूर्वाधार निर्माणमा २ करोड प्रदेश सरकारबाट लगानी भएको हो । प्रदेशको लगानीसँगै अहिले नेपाली सडक भएर आन्तरिक र बाह्य पर्यटकहरु सन्दकपुर पुग्ने क्रम बढेको सन्दकपुर २ का वडासदस्य अमृत राईले बताए ।
सन्दकपुर २ को छिन्टापु ‘प्राकृतिक ग्रेटवाल’ मा परिचय पाएको छ । गुराँसको राजधानीले परिचित छिन्टापु क्षेत्रमा पदमार्ग निर्माण प्रदेश सरकारले गरेको छ । पर्यटकहरु पदयात्रा गर्न र बिरामी भएमा साना सवारीसाधनबाट उद्धार गर्न मिल्ने गरि छिन्टापु पदमार्गले जोडिएको वडाध्यक्ष सनम राईले बताए ।
कोशी प्रदेश सरकारबाट अहिले छिन्टापुमा १ करोड लगानी भएको हो । कोशी प्रदेश सरकारबाट भएका पर्यटन पूर्वाधार निर्माणले इलामको पर्यटन प्रवद्र्धन र विकासमा ठुलो योगदान पुगेको हो । पर्यटकको आवतजात बढेपछि सवारी पार्किङस्थलको अभाव थियो । नेपाल, भारत र भुटानका पर्यटकहरुले खचाखच हुने हाँसपोखरी–पाथिभरा क्षेत्रमा प्रदेश सरकारबाट पाकिङस्थल निर्माण भएको हो ।

रोङ गाउँपालिका–३ को पाथिभरा, हाँसपोखरी क्षेत्रमा पार्किङस्थल निर्माण भएको हो । पार्किङस्थल निर्माणले पर्यटकहरु बोक्ने सवारीसाधान पार्किङमा सहज हुँदा मेची राजमार्ग क्षेत्रमा हुने ट्राफिक जाम हटेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुबास) ले बताए ।
९० प्रतिशत काम सम्पन्न भएको पार्किङस्थलमा सिजनमा दैनिक ५ सय बढी गाडि पार्किङ हुने गरेको अध्यक्ष तामाङले बताए । उनले भने–‘नेपाल र भारतबाट सानी पाथिभरा दर्शन गर्न आउने पर्यटकहरुले प्रयोग गरेका गाडि पार्किङ हुन्छन् । उनी भन्छन्–‘पर्यटकहरु सानी पाथिभरा दर्शन गरेपछि फर्किने भएकाले दिनमा पार्किङ सुविधा लिने गाडिको संख्या सयौँ हुन्छ । पार्किस्थल निर्माणमा प्रदेश सरकारको १ करोड ७२ लाख लगानी छ ।
रोङ गाउँपालिकाको वडा नम्बर ५ को किराँत पार्कमा प्रदेश सरकारको लगानी छ । किराँत पार्कमा आर्थिक २०८०/०८१ मा ५० लाख लगानी भएको थियो । प्रदेशको बजेटबाट पूर्वाधार निर्माण भएको छ । जसका किराँत समुदायमा आस्था राख्ने पर्यटकहरुको आवतजावत बढेपछि गाउँपालिकाले पर्यटन व्यवस्थापनका लागि समुदायमा होमस्टे प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।

प्रदेश सरकारबाट पर्यटकीय संभावना भएका तर प्रचारमा नआएका पर्यटकीय गन्तव्यहरुको पूर्वाधार निर्माणले ग्रामीण पर्यटकीय गन्तव्य थपिदैँ गएका छन् । सुर्योदय नगरपालिका १० स्वामी पार्क, सुर्योदय नगरपालिका ३ को तीनतने झरना, माईजोगमाई गाउँपालिकाको थुम्केरानी, सन्दकपुर गाउँपालिका १ को बिखे भञ्ज्याङ्ग उदाहरण हुन् ।
इलामका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका ४ जना र समानुपातिक १ गरि ५ जना प्रदेशसभा सदस्यहरुले पर्यटन पूर्वाधार क्षेत्रमा लगानी लाई प्राथमिकता दिएका छन् । जसका कारण पर्यटकीय संभावना भएका गन्तव्यहरुमा पूर्वाधार निर्माणले नयाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
सुर्योदय नगरपालिका १० स्वामीपार्क अहिले युवा पुस्तादेखि अध्यात्म क्षेत्रमा लाग्ने पर्यटकहरुको भिड हुने गरेको छ । इलामको पुरानो करफोक माध्यमिक विद्यालयसँगै रहेको जंगलमा पर्ने स्वामीपार्क क्षेत्रमा दैनिक १ सय जनासम्म आन्तरिक पर्यटक पुग्दै आएका छन् । स्वामीपार्कमा पूर्वाधार निर्माण पर्यटकहरु आवतजावत बढेपछि स्थानीयका घरमा होमस्टे व्यवसाय संचालन भएको छ ।

मेची राजमार्ग नजिकै रहेको स्वामी पार्कमा पर्यटकको चहपहल बढेपछि होमस्टे संचालनले आम्दानी राम्रो भएको स्थानीय बोझोघारी होमस्टेका संचालक देवराज तामाङले बताए । उनी भन्छन्–‘स्वामीपार्क, सुन्दर चियाबारी, सिमपानी, पञ्चकन्या मन्दिर लगायतका क्षेत्रमा भ्रमण गरि बास बस्ने पर्यटकहरुलाई सेवा गर्दा परिवार चलाउन सहजै भएको छ ।’
प्रदेश सरकारको बजेटबाट प्रवद्र्धन भएको पर्यटकीय गन्तव्य माईजोगमाई गाउँपालिका २ मा पर्छ । नेपाल, भारतका पर्यटकीय क्षेत्र, ग्रामीण बस्तिको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने थुम्केरानीमा पर्यटकीय पूर्वाधार निर्माणपछि अहिले दैनिक ५० जनासम्म पर्यटक पुग्न थालेका छन् ।
पर्यटकीय क्षेत्र जौबारी जोड्ने सडकमा रहेको थुम्केरानीमा पर्यटकको चहलपहलले होमस्टे व्यवसाय पनि फस्टाएको माईजोगमाई १ की कुसुम दाहालले बताइन् । इलामका पर्यटकीयस्थलमा प्रचारप्रासार र होमस्टे संचालनबारे प्रदेश सरकारको पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आएको छ । पर्यटन कार्यालय काँकरभिट्टाले होमस्टे व्यवसायमा प्रवद्र्धन गर्न पूर्वतयारी कक्षा, आतिथ्य सत्कार, गाइड, पोटर र सवारीचालकलाई पर्यटन बारे तालिम प्रदान गर्दै आएको छ ।
सूर्योदय नगरपालिका ११ को पञ्चकन्या मन्दिरक्षेत्रमा करफोक खलङ्गा होमस्टे संचालनमा दिएको प्रोत्साहनमुलक कार्यक्रमले नयाँ पर्यटकीय गन्तव्य विकास भएको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।
पूर्वाधारको क्षेत्रमा पर्यटन वन तथा वातावरण मन्त्रालयसँगै रहेको पर्यटन विकास आयोजनाबाट हुँदै आएको हो । पर्यटकीय क्षेत्र जोड्ने सडक, खानेपानीको व्यवस्थाको काम सम्बन्धित मन्त्रालय मातहतका कार्यालयबाट हुँदै आएको छ । प्रदेशको लगानीमा पर्यटकीयस्थलमा पूर्वाधार थपिएसँगै पर्यटकहरुको चहलपहल बढेको पर्यटन केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले बताए ।

पुर्वाधार निर्माणसँगै कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणापछि इलामका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । प्रदेश सरकारबाट लगानी भई पर्यटकको चहलपहल हुँदै गरेका पर्यटकीय गन्तव्यहरुमा थप प्रचारप्रसार हुन थालेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले बताए ।
इलामको कन्याम, अन्तु, रामसार क्षेत्र माईपोखरी, छिन्टापु, सन्दकपुर, जौबारी, तुम्लिङ, पाथिभरा, मेघमा, मानेभञ्ज्याङ लगायत दर्जनौँ पर्यटकीयस्थलमा प्रदेश सरकारबाट पूर्वाधार विकासमा लगानी भएको छ । पूर्वाधार र प्रवद्र्धनको कामले इलाममा वनजंगल र वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धनको काम पनि हुँदै आएको छ ।
इलाममा प्रकृति, सांस्कृतिक, धार्मिक, साहासिक पर्यटन व्यवसायको प्रचुर संभावना रहेको छ । वन्यजन्तु, सिमसार, चराहरु र हिमश्रङ्खलाको दृश्यमा रमाउने पर्यटकीय गन्तव्यहरु पनि धेरै रहेको इलामका १० स्थानीय तह मध्ये सन्दकपुर गाउँपालिकाले पर्यटन (क्यालेण्डर) पात्रो नै विकास गरि पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रहेको सन्दकपुरमा १५ वटा बढी पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
इलामका पर्यटकीय क्षेत्रमा झापाको काँकरभिट्टा र इलामको पशुपतिनगरबाट बाह्य पर्यटकहरु नेपाल भित्रन्छन् । पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार कोशी प्रदेशको इलाममा पर्यटकीय पूर्वाधार थपिएपछि भारतीय पर्यटकहरु भ्रमणमा आउने क्रम बढेको हो । इलाम आउने पर्यटकहरु धेरै प्राकृतिक सुन्दरतामा रम्न आउने गरेको होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराईले बताइन् ।
इलाम भित्र्ने पर्यटकहरुमा भारतको पश्चिम बंगाल राज्यका धेरै छन् । ग्रामीण पर्यटकीय गन्तव्यमा कोशी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि आन्तरिकसँगै बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको छ । पूर्वाधार निर्माण सँगै प्रवद्र्धनका क्षेत्र थप लगानी भएमा पर्यटन व्यवसायबाट इलामको आर्थिक विकासमा ठुलो टेवा पुग्ने देखिन्छ ।

रोङ गाउँपालिकाको जोरकलसमा रहेको पर्यटन सुचना केन्द्रका कर्मचारी गगन घिमिरेका अनुसार मेची राजमार्ग भएर इलाममा १ लाख ४१ हजार ५ सय १७ जना पर्यटकहरु इलाम प्रवेश गरका छन् । महिला ६९ हजार ३ सय ९३ र पुरुषको ७२ हजार १ सय २४ जना रहेका छन् । आन्तरिक १ लाख १७ हजार ७ सय ४० जना रहेका छन् ।
बाह्य पर्यटकहरुमा १० हजार महिला सहित २३ हजार ७ सय ७७ जना पर्यटकहरु जोरकलसबाट प्रवेश गरेका छन् । यो तथ्याङ्क आर्थिक वर्ष २०८०÷०८१ को हो । बाह्य पर्यटकहरुमा बढी मात्रामा भारतीय पर्यटकहरु आउने गरेका छन् । चालु आर्थिक वर्षको बैशाख सम्ममा १ लाख ३२ हजार २८ जना पर्यटक जोरकलसबाट इलाम प्रवेश गरेका छन् । जसमा महिला ६६ हजार १ सय २९ जना पुरुष ६५ हजार ९४ जना र बालबालिका १ हजार ३ सय जना रहेका छन् ।
तथ्याङ्क अनुसार आन्तरिक ९२ हजार ९ सय ७६ जना र बाह्य ३९ हजार ५२ जनाले इलाम भ्रमण गरि फर्किएका छन् । बाह्य पर्यटकहरुले इलामको श्रीअन्तु, कन्याम, बुद्धपार्क, सन्दकपुर, जौबारी क्षेत्र बढी मात्रामा भ्रमण गर्दै आएको तथ्याङ्क छ । भारतीय पर्यटकहरु पशुपतिनगर नाका हूँदै नेपाल प्रवेश गर्नेको संख्यामा पनि वृद्धि हुँदै आएको छ ।

पशुपतिनगरबाट आर्थिक वर्ष २०८०/०८१ मा ४९ हजार ७ सय ३५ जना पर्यटकहरुले इलाम भ्रमण गरेका थिए । यो संख्या अहिले बढेको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म मात्रै ४५ हजार ७ सय ४९ पर्यटकहरुले नेपाल प्रवेश गरि इलामका पर्यटकीय गन्तव्यमा भ्रमण गरेको पशुपतिनगर सुचना केन्द्रकी रचना तामाङले बताइन् ।
