इलामको सूर्योदय नगरपालिका–८ र ९ लाई वातावरणमैत्री वडा घोषणा गरिएको छ । वातावरण दिवसको अवसर पारेर एक कार्यक्रम आयोजना गर्दै दुवै वडालाई वातावरणमैत्री घोषणा गरिएको हो । वातावरणमैत्री घोषणा कार्यविधिको ७० प्रतिशत सुचक पुरा गरेपछि घोषणा गरिएको वन वातावरण तथा विपद शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिए ।

वडा नं ८ को कार्यालय दाम्सिङमा आयोजित कार्यक्रमको अध्यक्षता नगर प्रमुख रणबहादुर राईले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राई, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस नगर सभापति जिवन कुमार नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडाध्यक्ष जंग गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यंक्रममा विभिन्न जातिय झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी वडा नं ९ को पायुल झ्याङ्गछुप दार्गेलिङ्ग गुम्बा रम्फोकमा घोषणा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष देवेन्द्र शर्मां, राजनीतिक दलको तर्फबाट नेकपा एकिकृत समाजवादीका कमल गदाल, उद्योगी उत्तम कुमार श्रेष्ठ, वन पैदावार व्यवसायी कुमार तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य विमल साम्पाङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले सबैको सहकार्यबाट वातावरणमैत्री वडा घोषणा सम्भव भएको बताए । उनले वातावरणमैत्री वडालाई दिगोपना दिन सबैले घर र टोलबाट सशक्त रुपमा लाग्नुपर्ने बताए । कार्यक्रमका अन्य वक्ताहरुले वडालाई वातावरणमैत्री बनाउनका लागि सहकार्य गर्न तयार रहेको बताए ।
वातावरणमैत्री घोषणापछि घरघरमा स्टिरक टाँस गर्ने कार्य अघि बढाइने भएको छ । वातावरणमैत्री दुवै वडालाई प्रमाणपत्र वितरण र स्टिकर टाँस गरिएको छ ।
