Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिर्जना र संवादको उत्सव बन्यो थुम्के साहित्यिक महोत्सव

सिर्जना र संवादको उत्सव बन्यो थुम्के साहित्यिक महोत्सव

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २० २०८२


सिर्जना र संवादको उत्सव बन्यो थुम्के साहित्यिक महोत्सव

इलाम । माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त आयोजनामा दुईदिने थुम्के साहित्यिक महोत्सव २०८२ इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा विविध साहित्यिक, सांस्कृतिक तथा संवादमूलक गतिविधिसहित सम्पन्न भएको छ। अमरकल्याण नमुना माध्यमिक विद्यालयको प्रमुख व्यवस्थापन सहयोगमा जेठ १५ र १६ गते आयोजित महोत्सवमा कविता उत्सव, चियासंवाद, कलासंवाद, पुस्तकवार्ता, पुस्तक विमोचन र सांगीतिक प्रस्तुतिलगायतका कार्यक्रम समावेश थिए।

महोत्सवको थालनी माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र वरिष्ठ कवि डा नवराज लम्सालको उपस्थितिमा स्थानीय पर्यटकीय गन्तव्य मलुपोखरीको भ्रमणबाट गरिएको थियो। पहिलो दिन आयोजित कविता उत्सवअन्तर्गत विद्यालयस्तरीय प्रतियोगितामा नेपालज्योति माविका सौरभ तामाङ पहिलो, अमरकल्याण माविकी प्रश्ना कार्की दोस्रो र एल्भिसा भट्टराई तेस्रो भएका थिए। नामसालिङ माविकी शिक्षा घिमिरेले प्रोत्साहन पुरस्कार प्राप्त गरिन्।

‘चियाबारीका दृश्य–अदृश्य कथा’ शीर्षकको चियासंवादमा श्रमिक अस्मिता शेर्पा, उद्यमी सुबोध पौडेल तथा उत्पादक ज्ञानबहादुर ढकाल वक्ताका रूपमा सहभागी थिए। संवादको सहजकर्ता नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भीम चापागाईं थिए। संवादमा माईजोगमाई क्षेत्रको चिया उत्पादन, प्रशोधन, बजारीकरण, श्रमिक समस्याका विषयमा बहस भएको थियो।

दोस्रो दिन थुम्केरानीको सौन्दर्यमा केन्द्रित सूर्योदय सिर्जना कार्यक्रमबाट महोत्सव थालनी गरिएको थियो। रैथाने र पाहुना कविहरूले सूर्योदयको दृश्यमा आफ्ना कविता प्रस्तुत गरेका थिए। धरणी गौतम, रविमान लम्जेल, टीका घिमिरे, प्रकाश थाम्सुहाङ, दिवाकर भण्डारी, इन्द्रनारायण सुवेदीसहितका कविहरूले कविता वाचन गरेका थिए भने वरिष्ठ गायक देवी गौतम, भूपेन्द्र राई, वृष प्रधान र कमल अर्यालले सांगीतिक प्रस्तुति दिएका थिए।

‘माईजोगमाईको कला स् आस्था, अवस्था र सम्भावना’ शीर्षकमा आयोजित कलासंवाद महोत्सवको आकर्षण थियो। वक्ता उपाध्यक्ष प्रविना राई, प्रधानाध्यापक धनबहादुर भण्डारी, गीतकार महेश आचार्य थिए भने डा हेम भण्डारीले संवाद सञ्चालन गरेका थिए। त्यस्तै ‘रैथाने सिर्जनाको आकृति’ शीर्षकको पुस्तकवार्तामा केशवराज पौडेलको ‘नमुना मदन’ र नारायणप्रसाद चँदाराको ‘प्रधानबा’ पुस्तक विमोचनसहित समीक्षा गरिएको थियो।

समीक्षकका रूपमा प्रकाश थाम्सुहाङ, डा हेम भण्डारी र महेश आचार्य थिए। महोत्सवको समापनसत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, विशेष अतिथि उपाध्यक्ष प्रविना राई, विशिष्ट अतिथि डा। नवराज लम्साल, प्रशासकीय अधिकृत कुमार बस्नेत र सर्जक डा हेम भण्डारीलाई सम्मान गरिएको थियो।

साहित्य, संस्कृति र समाजका विविध पक्ष समेटिएको महोत्सवले माईजोगमाईको सिर्जनात्मक पहिचान उजागर गर्ने प्रयत्न गरेको आयोजकले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार