Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पर्यटन पत्रकारिता तालिम सुरु

इलाममा पर्यटन पत्रकारिता तालिम सुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २० २०८२


इलाममा पर्यटन पत्रकारिता तालिम सुरु

फिक्कल । इलाममा ३ दिवसीय पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पर्यटन कार्यालय झापाको सहकार्यमा नेपाल पत्रकार महासंघको आयोजना र पर्यटन पत्रकार मञ्च झापको समन्वयमा सूर्योदय नगरपालिका–१२ करफोकमा तालिम सुरु भएको हो । कोशी प्रदेश पर्यटन बर्ष २०८२ को अवसरमा पत्रकारहरुको क्षमता विकासको निम्ति तालिम आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार चन्द्र भण्डारी, केदार शर्मा, पर्यटन कार्यालयका अधिकृत निरज कट्टेल, करफोक खलंगा होमस्टेको अध्यक्ष कोपिला पोख्रेल, चन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले प्रकृति र संस्कृति पर्यटनको लागि अतुलनिय सम्पती भएको बताए । उनले कृषि प्रधान मुलुक नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २४ प्रतिशत मात्र योगदान रहेको बताए । उनले कृषि क्षेत्रमा ७० प्रतिशत कृषि क्षेत्रमा आवद्ध रहेका किसानहरुलाई अन्य क्षेत्रमा प्रतिस्थापन नगरे आर्थिक प्रगती नहुने देखिएको बताए ।

बस्नेतले आर्थिक समृद्धिको सम्भावना पर्यटन क्षेत्र देखिएको बताए । उनले गोल्डेन ट्रेङगुलरको रुपमा रहेको काठमाण्डौ, पोखरा र चितवनका कारण अन्य क्षेत्रबाट पर्यटकहरु आउन नसकेकोले पुर्वले पश्चिम बंगालका पर्यटकहरुलाई आर्कषित गर्ने कार्यक्रम ल्याउन सुझाव दिए । बस्नेतले भर्जिन ल्यान्डलाई प्रर्वद्धन गर्दै पर्यटकहरु ल्याउन सकिने सम्भावना देखिएको बताए ।

बस्नेतले सन्दकपुरमा बर्षेनी ३ लाख भारतीय पर्यटकहरु आउने भएपनि फाइदा लिन नसकिएको बताए । उनले सिमा सडकलाई चिवाभञ्ज्याङसम्म जोड्न सके पर्यटकहरुलाई ल्याउन सहज देखिने बताए । पर्यटन बर्ष सफल बनाउन तीनै तहका सरकारको समन्वयबाट मात्र कोशी पर्यटन बर्ष सफल हुन सक्ने बताए । अहिलेको अवस्थामा कोशी सरकार एक्लै हिडेकाले सहकार्य गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले क्रस बोर्डर पर्यटनको बारेमा आफ्नो अनुभव सुनाए । उनले ३५ बर्ष पत्रकारिताको अनुभवमा नेपाल, भारत, भुटान, म्यानमार लगायतका देशमा पत्रकारको रुपमा पुग्दा र पत्रकारिताको माध्यमबाट पर्यटनको सम्भावना उजागर गर्न सकिने बताए । भण्डारीले कञ्चनजंघा एफएम संचानलमा रहँदा विभिन्न क्षेत्रमा ७ सय भन्दा बढि श्रोता क्लबहरु गठन गरेको बताउँदै भारतीय पत्रकार र पर्यटनकर्मीको संगको सहकार्यमा गन्तव्यहरुको प्रचार गर्न सकिने बताए ।

पत्रकारितामा रहँदा भोग्नु परेको पिडा र सरकारको असहयोगको बारेमा समेत आफ्नो धारणा राखे । कार्यक्रममा सहजीकरण गर्दै पत्रकार केदार शर्माले मौलिक र रैथाने खानाको बारेमा आफ्नो धारणा राखे । शर्माले देशका विभिन्न भागमा मौलिक र रैथाने खानाको अध्ययनका क्रममा पुग्दा पाएको सम्भावना बारेमा धारणा राखे । शर्माले पत्रकारिताको ४ दशकको अनुभव समेत सुनाए ।

पछिल्लो १० बर्षमा घुम्नेहरुको संख्या बढेकाले क्रस बोर्डर पर्यटनको सम्भावना बढ्दै गएको बताए । पर्यटन कार्यालयका अधिकृत निरज कट्टेलले कार्यालयले पर्यटनको क्षेत्रमा गरेको गतिविधि र कानुनी जटिलताको बारेमा आफ्नो प्रस्तुती राखेका थिए । दोश्रो दिन पत्रकार विराट अनुपम, पर्यटनकर्मी कृष्ण शाह लगायतले सहजीकरण गर्नेछन् । तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ४० जना पत्रकार सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार