इलाम । आज नेपाली मिडियाका हटकेक बने राप्रपा नेपालका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री कमल थापा । काठमाडौँमा राजतन्त्र समर्थकको प्रदर्शनबाट उनलाई प्रहरीले पक्राउ गरेको तस्बिर र भिडियोले सामाजिक सञ्जाल फेसबुक रंगिएको थियो । तर तिनै कमल थापाले ३ बर्ष अघि फेसबुक नै प्रयोग गरेर नयाँ बर्षको शुभकामना दिँदै राजा फर्कने सम्भावना सकिएको उद्धघोष गरेका थिए ।
‘नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई हार्दिक मंगलमय शुभकामना । राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ । विभिन्न कारणवश मैले राजाको एजेण्डा छोड़े । तितो लाग्ला, अब राजा फर्कने संभावना सकियो ।’
थापाले पार्टीहरु असफल भएर राजा आउने नभएर एउटा पार्टी असफल भए अर्को आउँने बताएका थिए । ‘राजा फर्कने अरुनै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन ।’
नयाँ बर्षको शुभकामना दिँदै थापाले भनेका थिए । ‘मलाई थाहा छ, अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ । अहिले गालि गलौज र आरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो। त्यहाँ अझै केही समय रमाई राख्ख्रोस् । राजाको माया त लाग्छ, त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ ।’
थापासंगै राप्रपाका सांसद दीपक सिंहसहित सात जना रिहा भइसकेका छन् । थापा संगै सांसद सिंह, शीला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजीव झालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका झा अझै प्रहरी हिरासतमा छन् ।
