इलाम । रैथानेबाली लोप हुँदै जाँदा इलामको कोशेलीको रुपमा परिचय बनाएको काली काँक्राको खेती घट्दै गएको छ । इलाममा पहिलो पटक व्यवसयिक रुपमा खेति गरिदै आएको स्वादिलो स्थानिय जातको काली काँक्रो यति बेला धेरै र छिटो उत्पादन लिन उस्तै प्रकार र रंगमा देखिने विदेशबाट आयतित बर्णशकर (हाईब्रेड) जातमा भित्रिएपछि रैथाने जात हावी हुन थालेको हो ।
हेर्दा स्थानिय जातमा उस्तै रहेको छ तर हरेक आँख्लामा फल लाग्ने गरेको छ । रैथाने जातको जति बोट नहुने र एउटा थाङ्ग्रोमा टमाटरलाई जस्तै लहरो बाँधेर छिटो र थोरै समयमा फलाउन सकिने हुदा किसानहरूले यसलाई रुचाउन थालेका हुन् । तराईको खिर्रो जस्तै फलाउन सकिने यसको स्वाद भने अलि खल्लो र टोक्दा स्थानिय जातजस्तो लसकदार नभई करक करक हुने हुन्छ ।
इलामको सुर्योदय नगरपालिका–६ को तारगाउँमा करिव २ दशक अघि व्यवसायिक रुपमा गरिदै आएको रैथाने जातको कालिकाक्रो जेष्ठ महिना देखि असोजसम्म फल्ने गरेको छ । नेपालको प्राय पहाडी जिल्लाहरुमा विस्तार भई सकेको छ । गर्मीको सारथि काक्रोलाई सलाद, अचारको परिकारसंगै खान सकिन्छ । मेची राजमार्गको सडक पसलमा प्राय बेच्न राखिने यो काक्रो इलामको कोशेली बन्ने गरेको छ ।
रोङमा अत्याधिक खेति गरिने रैथाने काली काक्रोबाट यहाँका किसानहरुले लाखौ रुपैया भित्र्याउँदै आएका छन् । यहाँ उत्पादिक रैथाने कालिकाक्रो मेची राजमार्गका अधिकांश पसलहरुमा पाईन्छ । झापाका विभिन्न बजार काठमाण्डौँ साथै भारतको नक्शनलबाडी, बागडुग्रा र सिलिगुडि सम्म पुग्ने गरेको छ ।