फिक्कलः इलामको सूर्योदय नगरपालिकामा एआई एक्स-रे प्रविधिबाट क्षयरोग (फोक्सो) को परिक्षण गरिएको छ । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा फिक्कल नगर अस्पतालमा शिविर संचालन गरेर आठ सय २२ जनाको क्षयरोगको परिक्षण गरिएको हो ।
एआई एक्सरे प्रविधिबाट ८२२ जनाको परीक्षण गर्दा ९६ जना शंकास्पद बिरामी फेला गरेका छन । जसमा ८ जनामा क्षयरोग पहिचान भएको सूर्योदय नगरपालिका शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिए ।
प्रविधिको माध्यमबाट समयमै क्षयरोगको पहिचान गरी उपचारमा सहयोग पु¥याउने उदेश्यले सञ्चालन गरिएको उक्त शिविरमा नगरवासीको उल्लेखनीय सहभागिता रहेको थियो । नगर प्रमुख रण बहादुर राईले प्रविधियुक्त स्वास्थ्य सेवाको विस्तारले नगरवासीको जीवनस्तर उकास्न मद्दत पु¥याउने बताए ।
शिविरमा धेरैजसो सेवाग्राहीले एआई एक्स-रे परिक्षण गराएका थिए । शंका लागेका बिरामीलाई थप उपचार शुरु गरिएको छ । जिल्ला अस्पताल इलामका डाक्टर सारस घिमिरले उक्त प्रविधिका कारण छिटो रोग पत्ता लगाई समयमै उपचार गर्न सकिने जानकारी दिए ।
उक्त एआई प्रविधि चालु आर्थिक बर्षमा स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा एक÷एक वटा उपलब्ध गराएको थियो । उक्त उपकरण पालैपालो जिल्लामा ल्याएर क्षयरोगको परिक्षण गरिने गरिएको छ ।