इलाम– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले इलामको माई नगरपालिकास्थित सुखानीमा स्थापना दिवस मनाएको छ । पार्टीको कोशी प्रदेश कमिटीको आयोजनामा ७६औं स्थापना दिवस तथा आन्दोलन घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । पार्टीका इलाम र झापा जिल्ला कमिटीले व्यवस्थापन गरेको कार्यक्रम पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेतको प्रमुख आतिथ्य तथा पोलिटब्युरो सदस्य खिनु लङ्वा लिम्बूको विशिष्ट आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य भक्त केसीसहितका नेता–कार्यकर्ताको सहभागिता थियो । कोशी प्रदेश कमिटी अध्यक्ष सरिता थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । सुखानी पाँच सहिदले सहादत प्राप्त गरेको स्थल हो । २०२९ सालमा झापाबाट इलाममा जेल सार्ने बहानमा प्रहरी कम्युनिस्ट आन्दोलनका पाँच योद्धालाई सुखानीमा हत्या गरेको थियो । अहिले यो स्थललाई ऐतिहासिकस्थलका रूपमा विकास गरिएको छ ।