इलाम । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाले आफु माथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको जनाएका छन् । थापाले सन् २०१५ अप्रिल १६ मा फिफाले लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिए । फिफाले उनलाई प्रतिबन्धकालमा कुनै पनि संगठित फुटबलमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको थियो । अब सबैखाले निलम्बनबाट फुकुवा भएको उनले जनाएका छन् ।
थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल सुद्धिकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन् । १० बर्षको अवधि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै साथ दिनेहरुलाई उनले धन्यवाद ज्ञापन गरेका । नेपाली फुटबलको विकास र विस्तारमा सधैं लागिरहने प्रतिबद्दता पनि जाहेर गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।
एन्फा बैठकको निर्णय कार्यान्वय होला त ?
प्रतिबन्धको अवधिमा समेत थापाले सामाजिक सञ्जालका वर्तमान एन्फा नेतृत्वको कार्यशैलीको चर्को आलोचना भने गरिरहेका थिए । उनकै सहयोगमा एन्फा अध्यक्ष बनेका पंकजविक्रम नेम्वाङको आलोचना गर्न फेसबुक र टिकटक प्रयोगमा ल्याउने गरेका छन् । प्रतिबन्ध फुकुवा अवधिको एक महिना बाँकी रहँदा गत चैत्रमा बसेको एन्फा कार्य समितिको बैठकले थापालाई कारबाही गर्न विभिन्न निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।
प्रवक्ता सुरेश शाहले सार्वजनिक गरेको कार्य समितिको बैठकको निर्णयमा लेखिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धित विभिन्न भष्ट्राचारलगायतका फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरूलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरूमा आवश्यकताअनुसार पत्राचार गर्ने ’
फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गरेको थियो । त्यसपछि कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी २०७२ कात्तिकमा फिफाले १० वर्षका लागि थापालाई प्रतिबन्ध लगाएको थियो भने २१ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
एन्फा नेतृत्वमा ल्याउन नेम्वाङ, महासचिव किरण राई र सदस्यहरूलाई फुटबल गतिविधिमा प्रतिबन्ध लागेको समयमा सहयोग गरेको स्वीकार गरेका छन् । एन्फाबाट थप कारवाहीको सिफारिसको निर्णय पछि यसबारे पनि छानबिन गर्न उनले सुझाव दिएका थिए । दोषी ठहरिएमा जुनसुकै कारबाही भोग्न आफू तयार रहेको उनको भनाइ छ ।