इलाम । पहिलोपटक सहभागिता जनाएको पाहुना टोली ब्रदरहुड एफसी उदयपुर पाँचौ सन्दकपुर गोल्डकप च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाइटेड क्लब झापालाई टाइब्रेकरमा २–० गोलले पराजित गर्दै उदयपुरले उपाधि जितेको हो । निर्धारित समयमा एक–एक गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमार्फत लिइएको हो ।
खेलको ७८औँ मिनेटमा उदयपुरका आकाश राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । तर, दबाबमा रहेको बुट्टाबारीले इन्जुरी समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीको फ्रिकिक मार्फत गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्याएका थिए । उपाधि विजेता उदयपुरले २ लाख ५५ हजारसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता बुट्टाबारीले १ लाख ५५ हजार प्राप्त गरेको छ ।
बुट्टाबारीको यो प्रतियोगितामा तेस्रो फाइनल यात्रा थियो । तीन पटक नै उपविजेतामा सीमित रह्यो । फाइनल खेलको म्यान अफ द म्याच ब्रदरहुड एफसीका प्रवेश दनुवार घोषित हुँदै नगद दुई हजार पॉच सय पाए । बेस्ट डिफेन्डर बुट्टाबारीका सुजन चौधरी,उत्कृष्ट गोलरक्षक ब्रदरहुडका सौरभ बराल, बेस्ट मिडफिल्डर ब्रदरहुडका विवेक राई, हाइस्कोररमा ब्रदहुडका आकाश राई र राइजिङ प्लेयर देउराली स्पोर्टिङ क्लबका अभिमन्यु राई घोषित हुँदै जनही चार चार हजार प्राप्त गरे ।
देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा गोल्डकप सञ्चालन भएको थियो । जसमा पॉचथर, इलाम, झापा, मोरङ र उदयपुरका ८ टिमको सहभागिता रहको थियो।