इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवा सहित १२ देशका राजदुत इलाम आएका छन् । कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा मनाएसंगै परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय आएका हुन् । परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवद्र्धनको लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।
मन्त्री आरजु राणा देउवासहित राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् । ‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिईएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राई सहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।

उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरु बनाइएको छ । राजदुतहरुले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए । सोमबार अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि टेस्टिङ, टि प्लकिङ र फिसिङ गर्ने कार्यक्रम तय भएको संयोजक बरालले जानकारी दिए ।

भ्रमणका क्रममा औपचारिक कार्यक्रम राखिएको छैन् । तर नेपाली कांग्रेसका कार्यकर्ताहरुले परराष्ट्रमन्त्रीसंग भेटघाट कार्यक्रम राखेको नेपाली कांग्रेस इलाम क्षेत्र नं १ का सचिव राजकुमार सेरेङले जानकारी दिए । रिट्रिटमा मन्त्री देउवासँग इजिप्टकी राजदूत नोहा हाम्डी अहमद एल्गेबाली, रिपब्लिक अफ कोरियाका राजदूत पार्क टेइयोङ्ग, वेलायतका राजदूत रोब फेन, स्विटजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टेलियोन, थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्न, अष्ट्रेलियाकी राजदूत लेन जोनस्टोन, फ्रेञ्च रिपब्लिककी राजदूत भर्जिनी कोर्टेभाल, इजरायलका राजदूत स्मुलिक एरी बास, जापानका राजदूत माएडा तोरु, मलेसियाका राजदूत मोहम्मद फिर्डास बिन आजमान, श्रीलंकाकी राजदूत सिआर मुनासिंहे, बङ्गलादेशका राजदूत मोहम्मद हुमायुन कबिर सहभागी छन् ।

कार्यक्रममा इसिमोडका डाइरेक्टर जेनेरल पेमा ग्याम्त्सो पनि सहभागी भए । कन्यामको सौन्दर्यबाट मोहित भएका इजरायलका राजदुत स्मुलिक एरी बासले इलाम पुग्दा खुशी लागेको बताए । उनले इलामको कला संस्कृति, चिया भुगोल स्वर्गको एक टुक्राको रुपमा पाएको बताए । सन्देशकर्मीसँग कुरा गर्दै पर्यटन र कला संस्कृतिको हिसाबले इलाम सम्पन्न रहेको प्रतिक्रिया दिए ।

डिप्लोम्याटिक रिट्रिट कार्यक्रममा सहभागी हुन इलाम आएका राजदूतहरुले कन्याममा विभिन्न जातजातिका पहिरन लगाएर फोटोसुट गरे । कार्यक्रममा इजिप्ट, रिपब्लिक अफ कोरिया, वेलायत, स्विटजरल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रेञ्च रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका र बङ्गलादेश सहभागी छन् ।

