काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले अंक बाँड्न बाध्य भएका हुन् । योसँगै नेपालले ३ खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि आज भएको पहिलो खेलमा कतारलाई हराएको कुवेत पनि ३ खेलबाट ४ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ ।
वर्षाले खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको छ । खेलमा हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे । त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
नन्दन यादवले १ विकेट लिए । नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ । हङकङ तेस्रो स्थान र हालसम्म एक खेलपनि नजितेको कतार चौथो स्थानमा रहेको छ । अब दुई टोली तेस्रो स्थानका लागि भिड्नेछन् । फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल आइतबार खेलिनेछ ।