Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकालाई हराउँदै इटहरी मेयरकप अन्तरपालिका क्रिकेटको उपाधि नजिक

माई नगरपालिकालाई हराउँदै इटहरी मेयरकप अन्तरपालिका क्रिकेटको उपाधि नजिक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २८ २०८१


माई नगरपालिकालाई हराउँदै इटहरी मेयरकप अन्तरपालिका क्रिकेटको उपाधि नजिक

इलाम । इटहरी उपमहानगरपालिका दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इटहरी-९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरीले इलामको माई नगरपालिकामाथि ४२ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

इटहरीले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको माईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६४ रन मात्र बनाउन सक्यो । माईका लागि लभ कामतले सर्वाधिक ५० रन बनाए । ३३ बलको सामना गरेका उनले १ छक्का र ५ चौका प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । २४ बल खेलेका सन्दीप ढुंगानाले ३ छक्का र २ चौकाको मद्दतमा ३७ रन बनाए ।

सिवांश बजगाईंले ३१ र अनिल लामिछानेले २१ रन जोडे । इटहरीका प्रकाश कार्कीले ३ र जोसक खड्काले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । इटहरीको इनिङमा अंकित सुवेदी र गौरव कटुवालले अर्धशतकीय इनिङ खेले । अंकितले ३८ बलको सामना गर्दै ४ छक्का र ९ चौकाको मद्दतमा ७७ रन बनाए ।

गौरवले ६२ रन बनाए । ५० बलको सामना गरेका उनले ८ चौका प्रहार गरे । रितेष रायले ४० र रोहन शाहले नटआउट ११ रन बनाए । माई नगरपालिकाका श्याम यादव, सन्दीप ढुंगाना र अनिल लामिछानेले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच इटहरीका अंकित सुवेदी घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए ।

इटहरीले उपाधिका लागि शनिबार झापाको दमक नगरपालिका र विराटनगर महानगरपालिकाबीच शनिबार हुने अन्तिम सेमिफाइनल विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । इटहरीले संयोजन गरेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी उदयपुर र धनकुटाका १८ पालिकाका टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार