इलाम । ब्रदरहुड एफसी बेलका उदयपुर पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सात खाल्डे सहिद खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन डाँगीहाट एफसी मोरङलाई ४–२ गोलअन्तरले पराजित गर्दै उदयपुर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा ब्रदहुडको जितका लागि जेनिस प्रजापतिले दुई गोल गर्दा आकाश राई र अमन लामाले समान १÷१ गोल गरे ।
मोरङको तर्फबाट सबिन राइले एक्लैले दुई गोल फर्काउँदै अग्रता छोट्याए पनि हार टार्न भने सकेन । खेलको प्लेयर अफ दि म्याच ब्रदरहुडका जेनिस प्रजापति घोषित हुँदै नगद दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । शनिबार अन्तिम सेमिफाइनलमा रेडहर्स एफसी इलाम र बुट्टाबारी युनाइटेड झापाबीच खेल हुनेछ ।
देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल वैशाख १ गते हुनेछ ।