Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेयर कप –अन्तरपालिका क्रिकेट : इनरुवालाई ७ विकेटले हराउँदै माई नगरपालिका सेमिफाइनल प्रवेश

मेयर कप –अन्तरपालिका क्रिकेट : इनरुवालाई ७ विकेटले हराउँदै माई नगरपालिका सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २५ २०८१


मेयर कप –अन्तरपालिका क्रिकेट : इनरुवालाई ७ विकेटले हराउँदै माई नगरपालिका सेमिफाइनल प्रवेश

इलाम । दोस्रो कोशी प्रदेश अन्तरपालिका स्तरिय टी–२० क्रिकेट प्रतियोगितामा इलामको माई नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । तेस्रो जित हासिल गर्ने क्रममा माई नगरपालिकाले सुनसरीको इनरुवा नगरपालिकालाई ७ विकेटले हराएको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको इनरुवा टिम निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।

इनरुवा टिमका लागी रबिन मण्डलले ३४ बलमा ४२ रन बटुल्दा, आशिष मण्डल ३३ रन र सोनु मण्डलले २३ बलमा नट आउट ३५ रनको योग्दान गरेका थिए । यता माई नगरपालिका टिमको बलिङमा अनिल लामिछानेले ५ विकेट लिँदा श्याम यादब र बिशाल आचार्यले समान १–१ विकेट विकेट लिए । १२८ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लिएको माई नगरपालिकाले १६ ओभर ४ बलमा पुरा गर्यो ।

ओपनर लभ कामत ४१ रनमा अभय मण्डलको बलमा सागर मोचीको हातबाट क्याच आउट हुँदै पेभोलियन फर्किए । अनिल लामिछानेले २४ रनमा आउट हुन पुगे । सुरुवात देखि नै आक्रामक रहेका माईका ब्याटर सन्दिप ढुङ्गानाले नट आउट रहँदै २७ बलमा ४२ रन बटुल्दा माई टिमले ७ विकेटको सहज जित हाँसिल गर्यो ।

आजको खेलमा ब्याटिङमा २४ रन स्कोर गर्दै बलिङमा समेत ५ विकेट लिई उत्क्रिष्ठ अलराउन्ड प्रदर्शन गर्ने माई नगरपालिकाका खेलाडि अनिल लामिछाने प्लेयर अफ दि म्याच घोषित भएका थिए । माई नगरपालिका टिमले आगामी बिहिबार अर्थात चैत्र २८ गते बिहान ९ बजे इटहरी उपमहानगरपालिका (रातो) टिम संग सेमिफाईनल खेल खेल्नेछ ।

इटहरी उपमहानगरपालिकाले संयोजन गरेको यस प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी उदयपुर र धनकुटा जिल्लाका १८ वटा पालिकाका टिमहरूले सहभागिता जनाएका छन् । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफि प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेनस्टार क्लबले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार प्रदान गरिने र उत्कृष्ट ब्याटर र बलरलाई जनही चार– चार हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक सिपी पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार