माई । दोस्रो कोशी प्रदेश अन्तरपालिका स्तरिय टी–२० क्रिकेट प्रतियोगितामा इलामको माई नगरपालिका टिमले दोश्रो जित हासिल गरेको छ । कप्तान प्रज्वल खत्रीले अलराउन्ड प्रदर्शन गरेपछि माई नगरपालिकाले रामधुनी नगरपालिका सुनसरीलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको रामधुनी १९ ओभर ३ ओभरमा अल आउट हुँदै ११५ रनमा समेटिएको थियो ।

रामधुनी टिमका लागी समन्तराज रेग्मीले ३७ बलमा नट आउट अर्धशतकिय पारी खेल्दै ५६ रन जोडेका थिए । साईमन दाहाल १८ रन र निमा तामाङले ११ रनको योगदान गरेका थिए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । ३ जना ब्याटर शुन्यमा पेभोलियन फर्किएका थिए । रामधुनीलाई मध्यम लक्ष्यमा समेट्न माईका कप्तान प्रज्वल खत्रीले ४ विकेट लिँदा बिशाल आचार्य र शुमित शर्माले समान २/२ विकेट लिए।
यता ११६ रनको लक्ष्य लिई मैदानमा ओर्लिएको माईले १६ ओभर ३ बलमा लक्ष्य भेटाएको हो । माईलाई सहज जित दिलाउन अनिल लामिछानेले ३४ रन र अश्विनी कामतले २५ रन बटुल्दा कप्तान प्रज्वल खत्रीले नट आउट २० रनको योगदान गरे । रामधुनीका समन्तराज रेग्मी र अंकित गुरागाईले समान २/२ विकेट लिए । अमन सहनीले १ विकेट लिए ।

अलराउन्ड प्रर्दशन गरेका माईका कप्तान प्रज्वल खत्री प्लेयर अफ दि म्याच घोषित भएका थिए । भोलि बिहान ९ बजे माई नगरपालिका टिमले इनरुवा नगरपालिका टिमसंग नक आउट चरणको अर्को खेल खेल्नेछ । सेभेन स्टार क्रिकेट क्लब सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजन एबम सुनसरी जिल्ला क्रिकेट सङ्घको समन्वयमा इटहरीको डिभिएम खेलमैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।