इलाम । विश्वकप विजेता इटालियन गोलरक्षक जियानलुजी बुफोनपछि ब्राजिलियन लिजेन्ड रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनका दौरान २००२ को फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर कार्लोस नेपाल आउने भएका हुन् । यसअघि केपी ओली कप फुटबल प्रतियोगिताको त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीचको फाइनल खेल हेर्न बुफोन नेपाल आएका थिए ।
एनएसएलको आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्ट (एनएसइएम) ले शनिबार ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलको हाफ टाइममा कार्लोस नेपाल आउने घोषणा गरेको छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनी सन् २००२ को फिफा विश्वकप बिजेता ब्राजिलका मुख्य खेलाडी हुन् । लेफ्ट ब्याक कार्लोस विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ ।
ब्राजिलबाट १२५ खेलमा उनले १० गोल गरेका छन् । स्पेनिस क्लब रियाल मड्रिडमा ११ सिजन बिताएका कार्लोसले इन्टर मिलान, फेनरबाख, अन्जी मखाचकला जस्ता क्लबको जर्सी पनि लगाएका छन् । उनले पछिल्लो सन् २०१६ मा दिल्ली डायनामोबाट इन्डियन सुपर लिग खेलेका थिए । खेलाडी करियर दौरान नै उनले रसियन क्लब अन्जी मखाचकला, टर्किस टिम सिवासपोर र आखिसारोस्पर तथा आइलिग क्लब ओडिसामा प्रशिक्षकको भुमिका समेत निर्वाह गरेका छन् ।
रोबर्टो कार्लोसलाई खेलाडी करियरमा एल होम्ब्रे बाला “द बुलेट म्यान“ उपनाम दिइएको थियो । उनका शक्तिशाली शटहरू र फ्री किकहरूका कारण उपनाम दिइएको थियो । उनको प्रहार १०५ मील प्रति घण्टा (१६९ किमी/घण्टा) मापन गरिएको छ ।